कर्मचारीको उमेर हद ६३ वर्ष र अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर राख्न प्रस्ताव


२०८१ माघ ३ बिहीबार ११:०४ बजे

काठमाडौं । जानकारहरुले नेपालको बदलिँदो जनसांख्यिक संरचना र स्वरुपअनुसार निजामती सेवालाई समयसापेक्ष र जनमुखी बनाउन जनसंख्याको बनावट, औसत आयु र श्रमिकको उपलब्धतालगायत पक्षलाई गहिरोसँग अध्ययन गर्न सुझाएका छन् ।

 प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि जनसंख्या बनावटका सन्दर्भमा सुझाव दिँदै विज्ञ चेतन अधिकारीले राज्यलाई पर्ने आर्थिक भार, स्वास्थ्य सेवाको अवस्था र सेवाको प्रकृतिका आधारमा कर्मचारीको अवकाशको उमेर निर्धारण गर्न उचित हुने धारणा राखे ।

 शिक्षा, स्वास्थ्य, प्रतिव्यक्ति आय, जीवनशैली, यातायात तथा सञ्चारका सुविधाका कारण नेपालीको औसत आयु बढेको उल्लेख गर्दै अधिकारीले शारीरिक भन्दापनि मानिसक र नीतिगत अभ्यास गर्ने थलो निजामती सेवा भएकाले कर्मचारीको उमेर हद ६३ वर्ष बनाउँदा हुने बताए ।

निजामती सेवा बृहत रोजागरी उपलब्ध गराउने क्षेत्र नभई सार्वजनिक प्रशासनलाई क्षमतावान् र जनतालाई छिटो सेवा प्रवाह गर्ने इकाइ भएकाले यसलाई रोजगारी सिर्जनाको आधार मान्नु नहुने उनको भनाइ थियो ।  ‘यदि ५८ वर्षमा नै निजामती कर्मचारीको सिर्जनशीलता, शारीरिक तन्दुरुस्ती र कामप्रतिको लगाव कमजोर हुन्छ भनेर मान्ने हो भने सरकारले अवकाश दिनासाथ  संवैधानिक आयोगका प्रमुख तथा सदस्य, राजदूत वा अन्य महत्वपूर्ण जिम्मेवारीमा पुनः नियुक्ति किन गरिन्छ ?’, उनले प्रश्न गरे ।

 जनसंख्याविद् दामोदर ज्ञवालीले निजामती कर्मचारीको सेवा प्रवेशलाई खुला गर्न सुझाव दिँदै उमेरको सीमा नराखी योग्यता र क्षमता तोक्न सकिने बताए । उनले निजमती कर्मचारीको अधिकृतस्तरको योग्यता स्नातकोत्तर बनाउन सुझाव दिए ।  नेपालको जनसंख्याको विद्यमान बनावटबाट सङ्घीय निजामती सेवामा पर्न सक्ने प्रभावका बारेमा समितिले आज जनसंख्या क्षेत्रका जानकारसँग छलफल गरेको हो । समितिले यसअघि सो विधेयकका सम्बन्धमा लोक सेवा आयोग, कर्मचारी ट्रेड युनियन, राजनीतिक दलका प्रमुख सचेतक, संशोधनकर्ता सांसदसँग छलफल गरिसकेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७