सरकारद्वारा गाजा युद्ध विरामको स्वागत, विपिन रिहाइको अपिल
काठमाडौं । गाजा क्षेत्रमा बन्धकहरूको रिहाइ र युद्धविरामका लागि भएको सहमतिको नेपाल सरकारले स्वागत गरेको छ । मध्यपूर्वमा भइरहेको तनावपूर्ण घटनाक्रमलाई नजिकबाट अवलोकन गर्दै आएको बताउँदै सरकारले यो सहमति दीर्घकालीन शान्ति र स्थायित्वको दिशामा महत्वपूर्ण कदम भएको जनाएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा गाजाका जनताका लागि मानवीय सहायता सुनिश्चित गर्न यो युद्धविरामले सहयोग गर्ने विश्वास व्यक्त गरेको छ । साथै, नेपाली विध्यार्थी बिपिन जोशीसहित सबै बन्धकहरूको तत्काल रिहाइका लागि नेपाल सरकारले निरन्तर प्रयास गरिरहेको उल्लेख छ ।
नेपाल सरकारले यो सहमतिको सफलताका लागि मध्यस्थता गर्ने सबै पक्षहरूको भूमिकाप्रति आभार व्यक्त गरेको छ । साथै, युद्धग्रस्त क्षेत्रका जनताको अवस्था सुधार गर्न विश्व समुदायले जिम्मेवारीपूर्वक कदम चाल्नु पर्नेमा जोड दिएको छ।