जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित


२०८१ माघ ५ शनिबार ०४:४८ बजे
फाइल फोटो

सर्लाही । सर्लाहीको हरिपुर क्षेत्रका जङ्गली हात्ती बस्ती पसरे बालीनालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय त्रसित बनेका छन् । हरिपुर नगरपालिका–१ हजारबिघा क्षेत्रमा किसानले लगाएका बालीनाली जङ्गली हात्तीले क्षति गरेको हो । 

तीन वटाको संख्यामा देखिएको जङ्गली हात्तीले किसानको खेतमा पसेर अन्न र उखुबाली नष्ट गरेको वडाध्यक्ष नानीबाबु थापाले जानकारी दिए । ‘गए राति एक्कासी गाउँ नजिकै जङ्गलबाट खेतमा हात्तीहरू पसेका हुन्’, उनले भने, ‘खेतमा लगाएको बालीनाली क्षति गरेपछि गाउँतिर आउँछ कि भन्ने चिन्तामा स्थानीय छन् । हामीले सुरक्षा निकाय र वन कार्यालयमा खबर गरेका छौँ ।’ 

वडाध्यक्ष थापाका अनुसार गए राति हात्तीले स्थानीय मुना लायो मगरको कच्ची घर पनि भत्काएको छ । दिनभर जङ्गलमा लुकेर बस्ने जङ्गली हात्ती रातको समयमा बस्ती नजिकैको खेतबारी र गाउँमा प्रवेश गरेर उपद्रो गर्ने गरेको उनको भनाइ छ । विपन्न एकल महिला मगरको हात्तीले घर भत्काएपछि उनी थप त्रसित बनेको स्थानीयले निर्मला कार्कीले बताइन् । हात्तीले घरभित्र रहेको अन्नपात खाएको भन्दै रातको समयमा हात्ती आएको देखेपछि मगरले छिमेको घरतर्फ भागेर ज्यान जोगाएको बताइन् ।  

सोही हात्तीको बथानले स्थानीय निर्मला कार्की, अष्टम खड्का, गोपाल बस्नेतसहितको करिब बिघा जमिनमा लगाइएको मकै, गहुँ र उखु बाली पनि क्षति गरेकोसब–डिभिजन वन कार्यालयका प्रमुख रोहित चौधरीले जानकारी दिए ।सबडिभिजन वन कार्यालयले हरिपुर नगरपालिका–१, जानकीनगरका वन क्षेत्रमा गए रातिदेखि जङ्गली हात्ती देखा परेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । यस वन क्षेत्रमा बर्सेनि जङ्गली हात्ती आएर स्थानीयको बाली तथा घरमा क्षति गर्ने गरेका छन् । 

गत वर्ष पनि जङ्गली हात्तीले घुर्कौली जङ्गलमा घाँस काट्न गएका एक युवकमाथि आक्रमण गर्दा यसवकको निधन भएको थियो । अहिले वन क्षेत्रमा देखिएका जङ्गली हात्ती केही समयअघि रौतहटको विभिन्न वन क्षेत्रमा देखिने गरेका हात्तीको बथान हुनसक्ने डिभिजन वन कार्यालयले अनुमान गरेको छ । हात्तीलाई आफ्नो गन्तव्य बासस्थानतर्फ फर्काउन पहल भइरहेको वन कार्यालयका प्रमुख चौधरीले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७