कांग्रेससँग तीन बुँदे सहमति, खुल्यो पोखरा महानगरको ताला
पोखरा । पोखरा महानगरपालिकामा लगाइएको ताला आज (बुधबार) खुलेको छ । महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला खुलाइएको हो । महानगरमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले सोमबार लगाएको ताला ३ बुँदे सहमति भएपछि खोलिएको मेयर धनराज आचार्यले जानकारी दिए ।
उनका अनुसार गत मंसिर २३ गते बसेको विशेष नगरसभाले गरेका सम्पूर्ण निर्णय अक्षरंश कार्यान्वयन गर्ने, महानगरको सुशासन र समृद्धिका लागि जनप्रतिनिधी र कर्मचारी एकजुट भएर अघि बढ्ने, अहिले जारी १६ औं नगरसभामार्फत वडा कार्यालय, महाशाखा र शाखामा विनियोजित बजेट शीर्षकान्तर र रकमान्तर हुन नसकेर कार्यान्वयन हुन नसकेका योजनाका रकम रकमान्तर र शीर्षकान्तर गर्ने र जारी नगरसभा माघ ११ गते दिउँसो १ बजेका लािग बोलाउने सहमति भएको छ ।
गत सोमबार एमालेका जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेपछि कांग्रेसले कार्यकक्षमा ताला लगाएका थिए । मेयर आचार्यले एमालेका जनप्रतिनिधिसँग पनि सहमतिका लागि आज दिउँसो छलफल हुने बताए । एमालेले पनि विशेष नगरसभाका निर्णय अक्षरंश कार्यान्वयन नगरेको भन्दै नगरसभा बहिष्कार गरेका थिए । विशेष नगरसभाले करारका कर्मचारीलाई थप २ महिनाको तलब दिएर बिदा दिने र कार्यालयलाई आवश्यक कर्मचारी लोकसेवा आयोगमार्फत माग गर्ने लगायत निर्णय गरेका थिए ।
उक्त निर्णय अक्षरश लागु नभएको, कसैलाई हटाउने र कसैलाई राख्न खोजिएको, रकमान्तर र शीर्षकान्तर गर्न खोजिएको बजेटको शीर्षक र नया योजनाको नाम नदिएको लगायत माग राखेर एमालेले नगरसभा बहिष्कार गरेको थियो । कांग्रेसबाट निर्वाचित वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले माघ १० गतेका लागि बोलाइएको बैठक एजेण्डामा छलफल गर्न समय नपुग्ने भएकाले ११ गते बोलाउन सहमति गरेको बताए । नगरपालिका विधिसम्मत चल्नुपर्ने र नगरसभाले गरेका सम्पूर्ण निर्णय अक्षरंश कार्यान्व्यन गर्न आफूहरुले ताला लगाउनुपरेको उनको भनाइ छ । ‘महानगर विधिसम्मत चलेन भने फेरि पनि आन्दोलन गर्नुपर्ने हुन्छ’, उनले भने ।