कोशीका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश समिति सभापति उद्धव थापामाथि आक्रमण भएको छ । झापाको दोमुखाबाट बिर्तामोड फर्कने क्रममा उनीमाथि कुटपिट भएको हो । आज (शनिबार) साँझ सुरुङ्गाको जुकेखाडी पुल नजिकै आक्रमण भएको थापासँगै गाडीमा सवार कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए । उनले गाडी ओभरटेक गर्ने क्रममा एक्कासी विवाद गरी एक युवाले हातपात गरेको जानकारी दिए ।
नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारणसभाबाट फर्कंदै गर्दा शनिबार बेलुका करिब ७ बजे कन्काई नगरपालिकाको जुकेखाडी नजिक कुटपिट हुँदा थापाको आँखामा चोट लागेको हुमागाईंले जानकारी दिएका छन् । बा १ झ ६५३ नम्बरको गाडीमा आउँदै गरेका थापामाथि बा १ झ १८७० मा सवार व्यक्तिले आक्रमण गरेका थिए । साँघुरो बाटोमा गाडी ‘ओभरटेक’ गर्न खोजेपछि थापाको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ‘भीआईपी’ भनेर जानकारी गराउँदै गर्दा एक युवकले मुक्का प्रहार गरेका थिए । उनी बिर्तासिटी अस्पतालमा भर्ना भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो । कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरिएको बिर्तामोड प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कनकाई नगरपालिका–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ छन् । यति बेला इलाका प्रहरी कार्यालय बिर्तामोडमा सुरक्षा निकायका प्रमुख र दुवै पक्षबीच छलफल भइरहेको छ । हुमागाईंले सुनाए, ‘बाटो बन्दै गरेको ठाउँमा साँघुरो छ । सेतो प्लेटको गाडीमा भीआईपी हुनुहुन्छ भन्यौं, तर मुख छाड्दै मुक्का हाने । मलाई पनि धकेले ।’