संसदमा पुग्यो प्रहरी विधेयक, यस्तो छ पेन्सनसम्बन्धी प्रावधान
काठमाडौं । गृह मन्त्रालयले तीन वटा विधेयक प्रतिनिधि सभामा दर्ताका लागि लगेको छ । नेपाल नागरिकता ऐन दोस्रो संशोधन विधेयक, नेपाल प्रहरी ऐन संशोधन विधेयक र सशस्त्र प्रहरी ऐन संशोधन विधेयक दर्ताका लागि गृह मन्त्रालयले प्रतिनिधि सभामा चिठी पठाएको छ ।
संसद् सचिवालयले विधेयक दर्ताका लागि चिठी आएको र दर्ता प्रक्रियामा रहेको बताएको छ । १६ वर्षमा तल्लो तहका प्रहरीलाई पेन्सन दिने प्रावधानसहितको प्रहरी बिधेयक अन्ततः संसद पुगेको हो । बिधेयकमा तल्लो तहका प्रहरी कर्मचारीले लामो समयदेखि उठाउँदै आएको १६ वर्षमा पेन्सनसम्बन्धि प्रावधान समावेश छ ।
बिधेयकको दफा ५७ (ग) मा प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीले न्यूनतम १६ वर्ष सेवा अवधि पुगेमा पेन्सन पाउने उल्लेख छ । तर, पेन्सन भने उनीहरुले प्रहरी सेवामा नियुक्त भएको २० वर्ष सेवा अवधि पुगेपछि मात्र दिने उल्लेख छ ।
प्रहरीका कर्मचारीले यस्तो प्रावधानका लागि माग गर्दै आएका थिए । यद्यपी बिधेयक संसदबाट पास भएपछि मात्र यो कार्यान्वायनमा जानेछ । त्यसका लागि केही महिना लाग्न सक्नेछ । बिधेयकमा ३० वर्षे सेवा हद नराख्ने तथा आइजिपीको अवकाशको उमेर हद ६० वर्ष बनाउने उल्लेख छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वा प्रहरी नायब महानिरीक्षक (डिआइजी) ५६ वर्षमा अवकास हुँदै आएकोमा त्यसलाई ५९ बनाउने प्रस्ताव भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वा प्रहरी उपरीक्षक (एसपी)को ५५ वर्षमा अवकास पाउँदै आएकोमा ५८ वर्ष बनाइने भएको छ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) ५४ वर्ष र प्रहरी निरीक्षक (इन्स्पेक्टर) अवकास पाउँदै आएको छ । दुबै पदको अवकास पाउने उमेर हदलाई ५७ वर्ष बनाउन सरकारले प्रस्ताव गरेको हो । त्यस्तै प्रहरी वरिष्ठ नायब निरीक्षक वा प्रहरी नायब निरीक्षक ५२ वर्ष, सहायक निरीक्षक ५१, प्रहरी वरिष्ठ हवलदार, प्रहरी हवल्दार, प्रहरी सहायक हवलदार वा प्रहरी जवानको ४८ वर्षमा अवकास पाउने व्यवस्था छ । नयाँ विधेयकले वरिष्ठ नायब निरीक्षक, नायब निरीक्षक र सहायक निरीक्षकको ५४, वरिष्ठ हवल्दार, हवल्दार, सहायक हवल्दार र प्रहरी जवानको ५१ वर्ष बनाउने प्रस्ताव गरेको हो । कार्यालय सहयोगीको भने उमेर घटबढ गरिएको छैन ।