भक्तपुरमा पृथक ढङ्गले मनाइँदैं फागु


२०८१ फाल्गुण २९ बिहीबार १७:४५ बजे

–लक्ष्मी गारु
भादगाउँ । रङहरुको पर्व फागु अर्थात् होली आज काठमाडौँ उपत्यकासहित पहाडी जिल्ला र शुक्रबार तराई–मधेशका जिल्लामा हर्षोल्लासका साथ धुमधामले मनाइँदै छ । एकापसमा आत्मियताका साथ रङ दलेर खुशीयालीका साथ फागु पर्व मनाइन्छ । सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभावका साथ आफन्तजन एवं साथीसङ्गीसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने पर्व भएकाले फागुलाई आपसी मेलमिलाप र सद्भावनाको पर्वका रूपमा पनि लिइन्छ । फागुलाई असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको पर्वको रूपमा समेत लिइन्छ ।

फागु पर्वसम्बन्धी विभिन्न धार्मिक कथन, किंवदन्ती पाइएता पनि नेवार समूदायले भने फागु पर्वलाई पृथक ढंगले मनाउने गर्दछन् । नेवार समूदायमा प्रचलित फागुसम्बन्धी लोकभाकाले फागु पर्वलाई नेवार समूदायले प्रेम र यौनको प्रतिकका रूपमा मनाउने गरेको पाइन्छ । साथै यस दिन नेवार समूदायमा प्रचलित दाफा भजन खलः, धिमे, बाँसुरीलगायतका विभिन्न बाजा खलः एवम् गुठीहरुले आफ्ना बाजागाजाको पुजा गरी फागु पर्व मनाउने प्रचलन पनि रहेको छ । 

होलीया मेला, मय्जू मस्युला
अविर भचाः नः, तये मज्युला

नेवारी समुदायमा सर्वाधिक लोकप्रिय र प्रख्यात फागुसम्बन्धी उल्लेखित लोकभाकाले ‘होलीको बेलामा सुन्दरी युवतीलाई अविर अलिकति पनि दल्न नहुने हो र ?’ भन्ने भाव झल्काउँछ ।

‘अबिरया होली, तचँयाला ल्यासे
अबिरं छंगु ख्वाः हिसि दय्काबि’

लोककथामा आधारित नेपाल भाषाको चलचित्र ‘सिलु’ को यो गीतको अंशले पनि राम्री युवतीलाई ‘अबिरको होली खेल्दा पनि किन रिसाएको, अबिरले तिम्रो अनुहार झन् राम्रो बनाइदिन्छु’ भन्ने अर्थ बोकेको छ । फागु पर्व बसन्त ऋतुको आगमनसँगै मनाइने रङ र खुसीको पर्व हो । विशेष गरी सप्तरंगी रङमा रंगिएर एकापसमा खुशी साटासाट गर्ने र आपसको वैरभाव एवम् रिसराग बिर्सेर मनाउने यो पर्व वास्तवमा एउटा उन्मत्त पर्व हो ।

फागुन शुक्ल पूर्णिमाका दिन धुमधामले मनाउने यो पर्वको सुरुवात भने फागुन शुक्ल पक्ष अष्टमीका दिन सुरु हुन्छ । अष्टमीका दिन काठमाडौँको बसन्तपुर डबली अघिको चोकमा सप्तरंगी कपडाका ध्वजापताकासहितको चीर ठड्याएर गुठियारले एकापसमा अविर दलेर फागु पर्व सुरु भएको जनाउ दिन्छ ।     सोही दिन भक्तपुरको तचपालस्थित भिमसेन मन्दिरको पाटीमा काठको बडेमानको पुरुष जनइन्द्रिय अंग लिङ्गको प्रदर्शन गरेर फागु पर्व सुरु भएको जनाउ दिन्छ । लिङ्गको प्रदर्शनसँगै गुठियारहरु पाटीमा बसेर

‘भिसीँ द्यः या लजः ख्वगं, लव् वान ला ल्यासे,
बिस्यू वने म्वायेक स्वः झायाः लाः’

अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आको हो कि’ भन्ने भावको परम्परागत नेवारी लोकभाका गाएर बस्नुले भक्तपुरमा मनाइने फागु पर्वलाई झन पृथक बनाएको छ । यसले फागु पर्वलाई यौनसँग जोड्ने गरेको पाइन्छ । त्यसैले भक्तपुरमा फागु पर्वलाई प्रेम र यौनको प्रतिकको पर्वका रूपमा मनाइने गरिन्छ ।

बसन्त ऋतुको आगमनसँगै बोट बिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फुल फुल्न थालेसँगै मानिसको मन मस्तिष्कसमेतमा एक खालको तरंग पैदा गर्ने बेलामा एकापसमा रङको होली खेलेर मनाउने पर्व फागु प्रेम र यौनको प्रतिक बन्नु स्वभाविक भएको संस्कृतिविद्हरुको भनाइ रहेको छ ।

बसन्त ऋतुको आगमनसँगै रुख बिरुवामा नयाँ पालुवा आउने र त्यससँगै मानिसमा कामवासना जागृत हुने समय भएकाले फागु पर्वमा यौनरसयुक्त गीत प्रचलनमा आएको संस्कृतिविद् ओम धौभडेलले बताए । उनका अनुसार १७औं शताब्दीदेखि नै कृषि पेशामा संलग्न उपत्यकावासी बसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र मानिस फुसर्दमा मनोरञ्जनतर्फ आकर्षित हुने तर तत्कालीन समयमा मनोरञ्जनको साधन स्रोत भनेकै चाडपर्व हुने भएकाले फागुलाई प्रेम र यौनको प्रतिकका रूपमा मनाउन थालिएको हो । फागुमा बढी यौनरस युक्त संगित गुञ्जनु पनि यसैको उदाहरण भएको उनले बताए ।

उनले फागुमा यौनरसयुक्त लोकभाका गुञ्जने भएता पनि फागु अश्लिल पर्व भने नभएको बताए । उनले यसलाई विशुद्ध जीवन्त साँस्कृतिक पर्वका रूपमा लिनुपर्ने बताए । फागु पर्वले मानिसमा विद्यमान भेदभावको अन्त्यको सन्देश दिने उल्लेख गर्दै संस्कृतिकर्मी धौभडेलले केटाकेटी, युवा युवती, सबै जातजाति फागुको रङमा रंगिने र सबैले खुसीको रङ साटासाट गर्ने भएकाले यो चाड समावेशी चाड समेत भएको बताए ।

यसैगरी संस्कृतिविद् एवम् इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले प्राचीनकालदेखि नै समाज पुरुष प्रधानको रूपमा विकास भएसँगै महिलालाई यौनको प्रतिकका रूपमा लिने र महिलालाई यौन चाहना पुरा गर्ने साधनको रूपमा लिने प्रवृत्ति विकास भएकाले फागुमा प्रेम र यौनरसयुक्त लोकभाका गुञ्जने गरेको बताए ।

फागु विजयको हर्षोल्लासको रूपमा एकापसमा रङ दलेर नाचगानका साथ मनाइने पर्व हो । स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैभित्र हराउने पर्व तथा तनमन रङगाउने पर्वका रूपमा प्रचलित फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरुले आ–आफ्ना बाजाको पुजा गर्ने तथा बाजागाजा सहित एकापसमा अबिर दलेर टोल छिमेक परिक्रमा गर्ने प्रचलन पनि रहेको छ । यसले भक्तपुरमा मनाइने फागु पर्वलाई साँस्कृतिक पर्वका रूपमा पनि विकास गरेको छ ।

शास्त्रानुसार हिरण्यकश्यपु नामका राक्षसको छोरा प्रल्हाद असाध्यै विष्णु भक्त थिए । उनको विष्णु भक्तिले सारा राक्षसी साम्राज्य नै हल्लिन थालेपछि प्रल्हादलाई मार्न हिरण्यकश्यपुले अनेक हतकण्डा अपनाउँदा पनि प्रल्हादलाई केही हुँदैन। हिरणकश्यपुकी बहिनी होलीकालाई उनको तपस्याबाट प्रसन्न भएर अग्नी देवले आगोले छुन नसक्ने वरदान दिएको किम्बदन्ती छ । 

यस्तैमा एक दिन हिरण्यकश्यपुले आफ्नी बहिनी होलीकालाई प्रयोग गरी विष्णुभक्त छोरा प्रल्हादलाई अग्नीमा दहन गर्ने योजना बनाउँछ । सो योजनाअनुसार होलीका प्रल्हादलाई काखमा राखी अग्नीमा बस्दछन्, तर प्रल्हादको सच्चा भक्तिले गर्दा होलीका जलेर मृत्यु भएको र भक्त प्रल्हादलाई आगोले छुन नसकेको खुसियालीमा होली पर्व मनाउन थालिएको भनाइ छ । कतै फागु पर्वलाई भगवान कृष्णसँग पनि जोडिएको पाइन्छ ।

फागु पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदैं आएको छ, जसअनुसार आज पहाडी जिल्लामा र भोली तराई–मधेशका जिल्लामा सार्वजनिक बिदा दिइएको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरले फागु पर्वको नाममा उच्छृङखल क्रियाकलाप नगर्न, जथाभावी रङ र अबिर नदल्न सबैलाई सचेत गराएको छ । 

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले प्रेस विज्ञप्ती जारी गर्दै फागु पर्वका नाममा कसैको इच्छा विपरित फोहोर पानी वा केमिकल सहितको रङ दल्ने-छ्याप्ने, प्लाष्टिकको लोला हान्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख-हैरानी दिने, बाटो ढुकेर बटुवालाई जबरजस्ती रङ लगाउने, बाटो अवरोध हुने गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, सार्वजनिक स्थानमा होहल्ला गरी शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने जस्ता अराजक, उच्छृङ्खल एवम् अवाञ्छित कार्य तथा गतिविधि नगर्न र नगराउन आग्रह गरेको हो । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७