मेचीनगर गोल्डकप : चर्च ब्वाइज युनाइटेड फाइनलमा

झापा । चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मच्छिन्द्रलाई ४–३ गोल अन्तरले पराजित गर्दै चर्चब्वाइज युनाइटेड फाइनलमा पुुगेको हो । चर्चब्वाइज युनाइटेड यो जितमा अफ्रिकन खेलाडी अबयोमी फकुन्लेले ह्याट्रिक गरे । जितसँगै चर्च ब्वाइज युनाइटेडले शनिबार आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधिका लागि भिड्ने पक्का भएको छ ।
पहिलो हाफसम्म मच्छिन्द्रसँग ३–० ले पछाडि रहेको चर्चब्वाइज युनाइटेडले दोस्रो हाफमा रोमाञ्चक कमब्याक ग¥यो । उसका लागि ६१औं मिनेटमा अबयोमी फकुन्लेले पहिलो गोल गरे । उनैले ६९औं मिनेटमा थप एक गोल गर्दै खेललाई २–३ को अवस्थामा ल्याए । त्यसपछि ७८औं मिनेटमा चर्च व्याइजका लागि रिचार्ड विल्सनले गरेको गोलपछि खेल बराबरीमा पुग्यो । खेलको ८७ औं मिनेटमा फकुन्लेले गरेको ह्याट्रिक गोल नै जितका लागि पर्याप्त भयो ।
त्यसअघि मच्छिन्द्रका लागि खेलको ३०औं मिनेटमा विदेशी खेलाडी युसुफ मलिकले अग्रता दिलाएका थिए । साथै ४३औं मिनेटमा एन्द्रेस नियालेले गोल थप्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए । साथै ४४औं मिनेटमा युसुफ मलिकले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरेका थिए ।
प्लेयर अफ द म्याच अबयोमी फकुन्ले रु ११ हजार पाए । चर्चब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले २५ वर्षमा पहिलो पटक यति रोमाञ्चक पुनरागमन भएको प्रतिक्रिया दिए । प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाखसँगै ट्रफी र पदक प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु ५१ हजार उच्च गोलकर्ताले रु २५ हजार, उत्कृष्ट प्रशिक्षक र गोलकिपरले जनही रु २१ हजार र उदीयमान खेलाडीले नगद रु ११ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।