ओली, देउवा र प्रचण्ड भेट्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट तय भएको छ ।
तीन नेताबीच सोमबार अपराह्न ४ बजे सिंहदरबारमा भेट्ने समय तय भएको प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले जानकारी दिएका छन् । ‘भोलि दिउँसो ४ बजे शीर्ष नेता मात्रै छलफलका लागि बस्ने तय भएको छ’ उनले भने ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त हुनै बाँकी छ । त्यसका लागि सिफारिस समिति (सर्च कमिटी) समेत गठन हुन सकेको छैन । सिफारिस समितिमा सहमति जुटाउन तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको उनले बताए ।
यसअघि चैत ६ गते पनि तीन शीर्ष नेताको बैठक बस्ने तयारी थियो । तर, माओवादी अध्यक्ष प्रचण्ड पार्टीको तराई–मधेस जागरण अभियानका लागि काठमाडौँबाहिर गएपछि भेट हुन सकेको थिएन । यसअघि पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सर्वसम्मतिमा सम्भावित पदाधिकारीको सूची तय गर्न नसकिएको भन्दै जिम्मेवारीबाट हात झिकेको थियो । कुनै एजेण्डा तय नभएपछि सोमबारको बैठकमा अर्को समिति गठन र त्यही सेरोफेरोको विषयमा छलफल हुने खरेलले बताए ।