मन्त्रीले लोडसेडिङ हुँदैछ भनेपछि कुलमानको प्रतिक्रिया : छैन, हुँदा पनि हुँदैन


२०८१ चैत ६ बुधबार ०५:०७ बजे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दिपक खडकाले आज (बुधबार) संसद वैठकमा दिएको अभिव्यक्तिको खण्डन गरेका छन् । मन्त्री खडकाले आज राष्ट्रियसभा बैठकमा बोल्दै भारतबाट विद्युत आपूर्ति रोकिएसँगै अब साँझको समयमा लोडसेडिङ हुने बताएका थिए । खड्काले अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको र हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने उनको भनाइ थियो ।

तर कार्यकारी निर्देशक घिसिङले मन्त्रीको घोषणालाई खण्डन गर्दै लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने प्रतिक्रिया दिएका हुन् । राति पूरै पावरप्लान्टहरु चल्ने र दिउँसो भारतबाट आयात भइरहेकाले लोडसेडिङ नहुने उनले स्पष्ट पारेका छन् । एक हजार मेगावाट बढीका आयोजना राति पूर्ण क्षमतामा चल्ने भएकाले पनि लोडसेडिङ हुने अवस्था नरहेको घिसिङको भनाइ छ । ‘कुलेखानी, माथिल्लो तामाकोशी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, चिलिमे, साञ्जेनजस्ता धेरै आयोजनाहरु राति चल्छन्’, उनले थपे, ‘करिब करिब १००० मेगावाटका आयोजना पिकआवरमै फुल क्यापासिटीमा चल्छ । १००० प्लस रनअफ रिभर गरी १६-१७ सय मेगावाट आयोजना चल्छ ।’

यस्तो अवस्था रहेकाले लोडसेडिङ हुने हल्लामा नदौडिन उनको आग्रह छ । कार्यकारी निर्देशक घिसिङका अनुसार नेपालमा पिक टाइममा करिब १८÷१९ सय मेगावाट बिजुलीको माग हुन्छ। तर त्यसलाई प्राधिकरणले आवश्यक व्यवस्थापन मिलाएको उनको भनाइ छ ।  

उनले भने, ‘केही उद्योगलाई हामी पिक टाइममा चलाउन दिँदैनौं । त्यति हुँदा हामीलाई बिजुली मज्जाले पुग्छ।’ ऊर्जामन्त्री खड्काले भने भारतबाट बिजुली आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिएको जिकिर गर्दै अब आयातलाई थेग्न सक्ने अवस्था नभएको दाबी गरेका थिए । सो क्रममा उनले घिसिङलाई ‘उज्यालो नेपाल’ को नायक नभएको समेत बताएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७