संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत : प्रचण्ड
‘जति चिथोरे–कोपरे पनि कुलमानलाई हटाउन सक्ने स्थिति छैन’

निजगढ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्रमाथि छेडखानी गर्न नहुने बताएका छन् ।
बाराको सिमरामा आज साँझ आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग हो । संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो ।’ प्रचण्डले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पारे । हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको उनको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले सरकार अब धेरै अगाडि नजाने दाबी समेत गरे । ‘त्यो टिक्ने र चल्नेवाला छैन । यसको जन्म नै अप्राकृतिक तरिकाले भएकाले यो धेरै अगाडि जाने कुरा छैन । यसले राष्ट्र र जनताको पक्षमा कुनै राम्रो काम गर्न सक्ने स्थिति पनि छैन,’ उनले भने । अध्यक्ष प्रचण्डले अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउन बनेको सरकार भएकाले यसले सुशासनको पक्षमा काम गर्न सम्भव नहुने दाबी गरे ।
पछिल्लो उदाहरणका रूपमा कुलमान घिसिङलाई हेरे पुग्ने उनले बताएका छन् । ‘एउटै कुलमान घिसिङको उदाहरण काफी छ । जसले अँध्यारो नेपाललाई उज्यालो नेपाल बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्यो । त्यसलाई सताउने, ह्युमिलेट गर्ने, चिथोर्ने, कोपर्ने जे पनि गर्ने कोशिस भइराख्यो,’ उनले भने । तर पार्टी र नेपाली जनताले सत्य र न्यायको पक्षमा दरोसँग आवाज उठाएको अब त्यो स्थिति नरहेको उनको दाबी थियो।
‘जति चिथोरे पनि कोपरे पनि कुलमानलाई हटाउन सक्ने स्थिति अब छैन । त्यहाँको जनताको जित भयो हामी सबैको जित भयो,’ उनले भने । प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताए । चितवन हुँदै सिमरा आइपुगेका प्रचण्ड यसअघि स्थगित भएको तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिन आएका हुन् ।