सल्टियो कोटीहोम विवाद, यी आठ शर्तसहित बिरौटामा दिइयो ठाउँ

पोखरा । पोखरामा आयोजना हुने भनिएको ‘ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ’ आयोजनास्थलको विवाद तीन महिनापछि सल्टिएको छ । पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयले आठ शर्तसहित पोखरा महानगरपालिका–१७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गामा कोटीहोम सञ्चालन गर्न दिने निर्णयसँगै विवाद मिलेको हो।
विवादित धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारीको संकल्प एवं अगुवाईमा यसअघि आयोजकले पोखराको प्रमुख पर्यटकीयस्थल फेवाताल किनारको बाराहीघाट र हल्लनचोकस्थित क्याम्पिङ् चोकको जग्गामा कोटीहोम गर्ने तयारी गरेको थियो । तर पोखरा महानगरपालिका उक्त स्थानमा कोटीहोम गर्न नदिने अडानपछि विवाद चर्किएको थियो ।
विवादबीच आयोजकले २३ फागुनमा बाराहीघाटस्थित जग्गामा भूमिपूजन गर्न लाग्दा महानगरका प्रहरी र आयोजक पक्षबिच झडप समेत भएको थियो । अनुमति नलिइ कोटीहोमका लागि भूमिपूजन गर्न लागेको भन्दै महानगरले रोक्न र जसरी पनि भूमिपुजन गर्ने अठानछि विवाद र झडपको अवस्था बनेको थियो । सो क्रममा महानगर पक्षका ११ र आयोजक पक्षका सात जना घाइते भएका थिए ।
त्यसपछि २६ फागुनमा जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, सुरक्षा निकाय र कोटीहोम आयोजकसहित सरोकारवालाहरूको बैठकले कोटीहोमका लागि हाल आयोजकले गर्ने भनेको स्थानमा गर्न नदिने र यसका लागि अर्को स्थानमा उपयुक्त जग्गा खेजी गर्ने निर्णय गरेको थियो । त्यसपछि जग्गा खोजीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीका एक, महानगरका दुई र आयोजक फाउन्डेसनका दुई गरी पाँच सदस्य समिति गठन भएको थियो ।
१७ चैतदेखि २६ जेठसम्म कोटीहोम हुने
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, पोखरा–२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ, पोखरा–१७ की वडा अध्यक्ष राधिका योगी शाही, आयोजक संस्थाका विष्णुराज गिरी र विजय केसी रहेको समितिको रायअनुसार महानगरले सो स्थानमा कोटीहोम आयोजना गर्न दिने निर्णय गरेको पोखराका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले जानकारी दिए । आचार्यका अनुसार समितिले ६ चैतमा गरेको सिफारिस एवं पोखरा–१७ को सिफारिसका आधारमा १७ चैतदेखि २६ जेठ ०८२ सम्म कोटीहोम सञ्चालनका लागि महानगरपालिकाले अनुमति दिएको हो ।
महानगरको अनुमतिसँगै जिल्ला प्रशासन कार्यालय कास्कीलाई आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गरिदिन अनुरोध गरेको छ भने पोखरा–१७ को कार्यालय र श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरलाई कोटीहोम आयोजनाका लागि दिएको अनुमतिको जानकारी समेत दिएको छ ।
यी हुन् आठ शर्त
पोखरा महानगरपालिकाले आठ शर्तसहित सो शर्त पालना गर्ने गरी कोटीहोम सञ्चालन गर्न अनुमति दिएको हो । महानगरले आयोजकलाई उक्त क्षेत्रको वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने, कार्यक्रममा उत्सर्जन भएको फोहोर आयोजकले नै व्यवस्थापन गर्नु पर्ने, स्थानीय बासिन्दाको आवतजावत एवं साँधसधिवारबाट गुनासो नआउने व्यवस्था आयोजक स्वयंले मिलाउनु पर्नेछ ।
यस्तै सार्वजनिक स्थलमा राखिएका सूचना, पोष्टर तथा व्यानर कार्यक्रम समाप्त भएपश्चात् आयोजकले हटाउनु पर्ने, सूचना, पोष्टर तथा व्यानर राख्दा तथा कार्यक्रम सञ्चालन गर्दा सवारी साधनहरुको आवागमनलाई अवरोध गर्ने गरी सञ्चालन गर्न नपाइने, रोडक्रस स्वागत द्वार निर्माण गर्न तथा प्रचारप्रसारका लागि माइकिङ गर्न नपाइने, नेपाल सरकार तथा प्रचलित कानुबाट निषेधित वस्तु तथा सेवाको प्रचार–प्रसार, बिक्री वितरण एवं प्रयोग गर्न नपाइने, अनुमति पत्रमा उल्लेख नभएका विषय प्रचलित कानुन बमोजिम हुनेछन् भन्ने सर्तसहित कोटीहोम गर्न अनुमति दिएको हो ।