त्रिचन्द्रमा निर्वाचन अधिकृतमाथि हानियो मोसो

काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा बनेको निर्वाचन समितिका निर्वाचन अधिकृत अंगदमणि गौतममाथि विद्यार्थी नेताहरुले मोसो दलेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गराउन नसकेको भन्दै निर्वाचन अधिकृतमाथि विद्यार्थी नेताहरुले मोसो प्रहार गरेका हुन् ।
गौतममाथि नेपाल विद्यार्थी संघको बागी उम्मेदवारहरू विवेक बानियाँ र श्रीधर श्रेष्ठले मोसो प्रहार गरेका हुन् । निर्वाचन समितिले आयोजना गरेको बैठकमा निर्वाचनमा उम्मेदवार बनेका सबै पक्ष सहभागी थिए । बैठकमा सहभागी एक नेताका अनुसार निर्वाचन अधिकृत गौतमले निर्वाचनका बाँकी प्रक्रियामा अगाडि बढाएर भोलिको मतदानका लागि भएका तयारीबारे जानकारी गराएका थिए ।
तीन पटकसम्म चुनावको मिति तोकिए पनि त्रिचन्द्रमा विवादका कारण चुनाव हुन सकेको छैन । अब मंगलबारको लागि चुनावको मिति तोकिएको छ । जसरी पनि मतदान रोक्ने प्रयासमा रहेकाहरूले घटना गराएको त्रिचन्द्रका विद्यार्थी नेताहरूले जनाएका छन् । घटनापछि निर्वाचन अधिकृत गौतमले जसरी पनि निर्वाचन रोक्ने मानसिकताका साथ आएका बानियाँ र श्रेष्ठले आफूमाथि अपशव्द प्रयोग गर्दै मसी प्रहार गरेको बताएका छन् ।