संसद पुग्यो धवल शम्शेर पक्राउ परेको सूचना, सांसद पद के होला ?


२०८१ चैत १६ शनिबार ००:५७ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शम्शेर राणा पक्राउ परेको सूचना संघीय संसद सचिवालयमा पुगेको छ । राप्रपा महामन्त्री तथा नवराज सुवेदी नेतृत्वमा रहेको ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ का आन्दोलन परिचालन समितिका प्रमुख समेत रहेका राणा पक्राउको सूचना संसद सचिवालय पुगेको हो ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद राणा पक्राउको सूचना सचिवालयलाई प्राप्त भएको जनाएका छन् । सांसद पक्राउको सूचना आएपछि प्रतिनिधि सभा बैठकमा यसबारे सभामुखले जानकारी दिने प्रचलन छ। राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणालाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको थियो । उनीहरूलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएको छ । राप्रपाका नेता पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनी लगायतले मिश्र र राणालाई शनिबार भेटेका थिए । उनी राजावादीको प्रदर्शनको क्रममा भएको हिंसात्मक गतिविधि भड्काउन मतियार रहेको आरोपमा पक्राउ परेका हुन् ।

पक्राउ परेसँगै उनी संसदीय गतिविधिबाट बञ्चित भएका छन् । संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो ।

सूचना प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली अनुसार सभामुखले संसदमा जानकारी दिनुपर्छ । संसद् नभएको अवस्थामा सूचना पाटीमा पक्राउ भएको सूचना प्रकाशित गराउनुपर्छ । प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजे बस्दैछ । प्रतिनिधिसभा नियमावली अनुसार पक्राउ पर्दैमा तत्काल राणाको सांसद पल निलम्बन हुने छैन । प्रहरीले उनी विरूद्ध तीन वर्षभन्दा बढी सजाय माग दाबी गर्दै अभियोग लगायो र उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने त्यस्तो अवस्थामा मात्र उनको सांसद पद निलम्बनमा पर्नेछ ।

यस्तो अवस्थामा राणाले सांसदको रुपमा तलब–भत्ता पाउने छैनन् । उनले सांसदका रूपमा प्राप्त हुने अधिकार पनि प्रयोग गर्न पाउने छैनन् । प्रतिनिधिसभा नियमावलीको नियम २४८ को ५ अनुसार तत्काललाई भने राणा संसदीय गतिविधिमा सरिक हुने छैनन । राणाले सफाइ पाए वा थुनामुक्त भए त्यसको सूचना सभामुखलाई दिनुपर्छ । त्यसपछि मात्रै राणा संसदीय गतिविधिमा सरिक हुन पाउने छन् ।

दुर्गा प्रसाईको आह्वानमा शुक्रबार तीनकुनेमा प्रदर्शन भएको थियो । यो प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वमा रहेको ‘राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति’ ले पनि समर्थन गरेको थियो । समितिको सदस्य सचिव मिश्र र आन्दोलन परिचालन समितिमा राणा पनि छन् ।

मिश्र र राणाले प्रदर्शनकारीलाई भड्काउन भूमिका खेलेको आरोप छ। यस भूमिकालाई लिएर राप्रपाभित्र कतिपय नेताले आलोचना गरेका छन् । तीनकुनेमा शुक्रबार दुई जनाको मृत्यु भएको थियो । व्यक्तिगत घरहरूमा तोडफोड र आगजनी भएको थियो । सरकारी गाडी, जडिबुटी कम्पनी र पार्टी कार्यालयहरूमा आगजनी भएको थियो । राप्रपाले शुक्रबारको घटनाबारे समीक्षा गरी धारणा बनाउन शनिबार अपराह्न ३ बजेका लागि कार्यसम्पादन समिति बैठक पनि बोलाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७