आँशु र आक्रोशसहित मीनबहादुर गुरुङले उठाएका गम्भिर प्रश्नहरु
अप्ठ्याराहरुमा पनि ताल जस्तै शान्त र संयमित देखिने मीनबहादुर गुरुङ बुधबार आक्रोशित र भावुक देखिए । आफूमाथिका अवरोध र आक्रमणहरुलाई मौन भएर सामना गर्ने गुरुङ भावुक थिए । मञ्चमा उभिएपछि वाचाल भए । आक्रोशित भए ।
अनेक अप्ठ्यारा, अवरोध र संकटहरुमा पनि ताल जस्तै शान्त र संयमित देखिने भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ बुधबार अलि आक्रोशित र भावुक देखिए । आफूमाथिका अवरोध र आक्रमणहरुलाई मौन भएर सामना गर्ने गुरुङ बुधबार मञ्चमा उक्लिन अघि भावुक थिए । मञ्चमा उभिएपछि वाचाल भए । आक्रोशित भए ।
पञ्चायतको सम्झना गरे । राजावादी नाममा भएका आन्दोलनको बर्बरतालाई सम्झिए । नयाँ पुस्तालाई ‘देशभित्रै भबिष्य’ भएको भन्दै देश नछाड्न अपिल गरे । आफूमाथि भइरहेको श्रृखलाबद्ध आक्रमणको सम्झना गरे । राज्य र लुटेर समूहबाट भइरहेका एकपछि अर्को आक्रमणका कथा सुनाए । राज्यलाई प्रश्न तेर्साए । सरकारसँग सुरक्षा मागे । राजावादीहरुको नाममा सडकमा आएकाहरुलाई सचेत गराए । विगत सम्झाए । भबिष्यप्रति सचेत गराए ।
बुधबार अर्थात् २० चैत २०८१ । कार्यक्रमको नाम थियो–‘कर्मचारी सम्मान कार्यक्रम ।’ स्थान भाटभटेनी सुपरमार्केट कोटेश्वर । गत १५ चैत २०८१ मा राजावादीहरुको नाममा भएको तोडफोड, आगजनी र लुटपाटको एउटा निशाना बनेको थियो–‘भाटभटेनी सुपरमार्केट ।’ राजावादीका नाममा आएका लुटेराहरुको समूहले कोटेश्वरको भाटभटेनीमा तोडफोड, आगजनी र लुटपाट मच्चाएका थिए ।
त्यही तोडफोड, आगजानी र लुटपाट रोक्न बहादुरीपूर्वक काम गर्ने सुरक्षागार्ड तथा कर्मचारीहरुलाई सम्मान गर्न भाटभटेनी सुपरमार्केटले कार्यक्रम गरेको थियो । कार्यक्रमको सुरुवातमा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट जोगाउन ‘बहादुरी’ प्रदर्शन गरेका सुरक्षागार्ड दुलप्रसाद पराजुलीलगायतलाई सम्मान गरियो । पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरियो । त्यसपछि उनलाई मञ्चमा गएर केही बोल्न भनियो । पराजुलीले मञ्चमा गएर आफ्नो कुरा राख्दै गर्दा मिनबहादुरको आँखामा आँशु टिलपिलाइरहेको थियो ।
विसं २०५८ सालदेखि भाटभटेनी सुपरमार्केटमा जागिर सुरु गरेका पराजुलीले भने, ‘मैले जागिर खाएको २०५८ सालमा हो । मैले यहीँ जागिर खाएर जग्गा किनें । घर बनाएँ । त्यसपछि छोराको बिहे गरें । छोरा पढाएँ । गाडी किनें ।’ कर्मचारीले आफ्नो सुख–दुःख सुनाइरहेका बेला मीनबहादुर भावुक भए ।
कार्यक्रममा अध्यक्ष गुरुङकी श्रीमती सावित्री गुरुङ, छोरा कल्याण गुरुङ, भाइ पहलमान गुरुङ र छोरी कामनासहित भाटभाटेनी समूहका सबै अगुवाहरु उपस्थित थिए । उनले आफूले कानुन अनुसार मालपोत तिरेर जग्गा किन्दा राज्यले संगठित अपराधको मुद्दा लगाएको तर समाजमा अनेकौं लुटपाट र अपराध गर्नेहरुलाई छुट दिएको भन्दै राज्यको समानताको तराजुमाथि प्रश्न उठाए ।
अनि मञ्चमा उक्लिए मिनबहादुर
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सिओओ) पानु पौडेलले भाटभटेनीले गरेका कामहरु र १५ चैतको घटना बारेमा विस्तारमा सुनाए । आफ्ना कर्मचारीहरुलाई सम्मान गर्दा भावुक देखिएका अध्यक्ष गुरुङ आफू मञ्चमा उक्लिएपछि वाचाल रुपमा प्रस्तुत भए । पुराना दिनहरुको सम्झना गर्दै भाटभटेनी सुपरमार्केटमा लुटपाटको बिरोध गरे ।
पञ्चायत बिरोधी आन्दोलनयता आफू सबै आन्दोलनमा सहभागी र प्रत्यक्षदर्शी भएको भन्दै जीवनकालमा यस प्रकारको बर्बरता कहिल्यै नदेखेको बताए । भने, ‘म नेपाली भएको नाताले अन्यायविरुद्ध लड्नु पर्छ । मैल १६–१७ वर्षको उमेरदेखि लडाइँ लड्दै आएको हो । विगतदेखि नै मैले विभिन्न घटना परिघटना देख्दै आएको हो । कुनै पनि घटनामा यसरी व्यक्तिको सम्पत्तिमाथि धावा बोल्ने आक्रमण गर्ने, व्यक्तिका घरमा ढुंगामुढा गर्ने, अफिसमा आगजनी गर्ने काम भएको थिएन, यो मात्रै होइन, एक फोटो पत्रकार जसले समाज सुसूचित गर्न आफ्नो काम गरिरहेका थिए उनै व्यक्तिलाई जलाएर मारिदिने यस्तो बर्बर आन्दोलन कहिल्यै पनि देखिनँ ।’
अध्यक्ष गुरुङले भाटभटेनीमाथिको आक्रमणलाई केवल एउटा समूहमाथिको आक्रमणको रुपमा नलिन आग्रह गरे । भोलि सबैमाथि आक्रमण हुन सक्ने बताए । भने, ‘आज भाटभटेनीमाथि आक्रमण भयो । भोलि अन्य प्रतिष्ठानहरूमा पनि आक्रमण हुन सक्छ । आज भाटभटेनीको सम्पति लुटे भोलि देशको सबै व्यवसायीको सम्पति लुट्न सक्छन् । यस्ता लुटेराहरूले ल्याएको परिवर्तन हामीलाई चाहिएको हो ? यस्ता समूहप्रति हाम्रो समर्थन हो ? कदापि होइन । हामी यो देशलाई सम्पन्न बनाउन चाहन्छौं । यो देश विश्वको सम्पन्न मुलुकमा परोस् भन्ने चाहना राख्छौं । तर, सत्ता प्राप्तिका लागि जुन कुरा भयो, यो एकदमै खेदपूर्ण छ ।’
मिनबहादुरले उठाएका गम्भिर प्रश्नहरु
मञ्चमा अध्यक्ष गुरुङ बोलिरहेका बेला यस्तो लाग्थ्यो आज उनको दिमाग होइन हृदयले बोलिरहेको छ । उनले पटक–पटक आफू उद्यमी होइन नागरिकको रुपमा बोलिरहेको प्रष्टीकरण दिइरहे ।
नागरिककै रुपमा उनको प्रश्न थियो, ‘आज कुनै पूर्व प्रधानमन्त्रीको घरमा अथवा आन्दोलनको मेन नाइकेको दरबारमा दुंगामुढा गरे के हुन्छ ? नेपाली जनताले यत्रो संघर्ष गरेर ल्याएको गणतन्त्रमाथिको आक्रमण ज्यादै खेदपूर्ण छ । म नेपालको सचेत नागरिक हुँ । सचेत नागरिक भएको हैसियतले म सरकारलाई प्रश्न गर्छु– एउटा गुण्डालाई जे पनि भन्न र गर्न दिने ? यो भनिरहँदा मलाई कुनै त्रास, डर र हिनताबोध छैन ।’
अध्यक्ष गुरुङले केवल राजावादीहरुलाई मात्रै प्रश्न उठाएनन् । सरकारलाई समेत गम्भिर प्रश्न गरे । सरकारले सुरक्षा दिन नसकेको उनको गुनासो थियो । उनले सरकारलाई सोधे, ‘हामी आफूले आर्जन गरेको समपत्तिबाट ट्याक्स (कर) तिर्छौं । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौं हजार भाइबहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ? यो त राज्यको दायित्वभित्रको कुरा हो । दुर्गा प्रसाईं गुण्डा नाइके हो । राज्यले पुल्पुल्याउँदा आज यो परिणाम देखियो ।’
एउटा अराजक व्यक्तिले निजी क्षेत्रलाई आतंकित गर्दा सरकारले छुट दिएको भन्दै कारबाहीको अनुरोध गरे । भने, ‘राज्यले व्यवसायीलाई तथानाम गाली गर्दा, बैंकको पैसा नतिर भन्दा उसलाई छुट दियो । बैंकको कर्मचारीलाई मोसो दल्दा छुट दियो । यसैको परिणाम हो यी दुई जना युवाको हत्या । यस घटनामा दोषीलाई कडाभन्दा कडा कारबाही गर्न म राज्यलाई आग्रह गर्छु । एउटा गुण्डाले देशमा सरकारी र निजी सम्पत्तिमाथि धावा बोलेको छ । यसमा म सरकारलाई कडाभन्दा कडा कारबाही गर्न अनुरोध गर्छु ।’
अध्यक्ष गुरुङले आफूलाई राजावादीको कमाण्डर दाबी गर्ने दुर्गा प्रसाईंलाई पनि प्रश्न गरे । भने, ‘चैत १५ गतेको आन्दोलनको लिडर, कमाण्डर दुर्गा प्रसाईंको बिएण्डसी अस्पतालमा गएर हामीलेढुंगा हान्यौं र लुटपाट ग¥यौं भने के हुन्छ ? प्रसाईंको मन रूँदैन, चित्त दुख्दैन ? मीनबहादुर गुरूङ र भाटभटेनी परिवारको पनि मन दुःखेको छ, यस्तो काम गर्न हुन्छ ?’
अध्यक्ष गुरुङले राज्यले आफूमाथि गरेको अपमान र अत्याचारको कथा पनि सुनाए । आफूले कानुन अनुसार मालपोत तिरेर जग्गा किन्दा आफूलाई संगठित अपराधको मुद्दा लगाएको तर राज्यमाथि गैरकाननुनी लुटपाट मच्चाउनेहरुलाई त्यसै छोडिएको बताए । उनले राज्यले न्याय र समानताको आँखाले हरेक नागरिकलाई हेर्नुपर्नेमा जोड दिए ।
‘कसैलाई खेदेर कसरी बन्छ देश ?’
अध्यक्ष गुरुङले राज्यले सबैलाई समान हिसाबले व्यवाहार गर्नुपर्नेमा जोड दिए । उनले धरानमा मारवाडी समुदायमाथि आक्रमण भएपछि सबै विराटनगर गएको सम्झना गर्दै भने, ‘दुर्गा प्रसाईं मारवाडीले यस्तो ग-यो, त्यस्तो ग-यो भन्दै हिँडेका छन् । मारवाडी देशको नागरिक होइन ? मारवाडी भगाउने ? देश कंगाल बनाउने ? व्यवसायी भगाउने ?’
उनले भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था नफर्किने पनि बताए । भने, ‘गुण्डा नाइके दुर्गा प्रसाईंको क्रियाले राजसंस्था फर्किदैन, म ठोकुवा गरेर भन्छु । भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? भाटभटेनीमा ढुंगा हानेर नेपालको संविधान मेटिन्छ ? हामी बुझ्दैनौं ? यो सबै डकैती हो ।’
उनले १५ चैतमा राजावादीको आन्दोलनमा भएको हिंसात्मक घटनामा ज्यान गुमाए दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरे । एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सवारी मजदुर सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक राहत दिने घोषणा गरेका हुन् ।