बैंककमा ओली–मोदीबीच एक्ला–एक्लै भेटवार्ता
मोदीलाई सगरमाथा संवादमा निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्याण्डको राजधानी बैंककमा ३५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको छ ।
शुक्रबार मोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा दुवै पक्षबाट कोही पनि अरु अधिकारी सहभागी नभएको स्रोतले जानकारी दिएको छ । ‘नेपाल भारत सम्बन्धका बारेमा दुवै तर्फ विभिन्न अड्कलबाजी चलिरहेकाले त्यसलाई स्पष्ट गर्न पनि दुई नेता छुट्टाछुट्टै बस्नु जरुरी थियो,’ प्रधानमन्त्री निकट स्रोतले सुनायो, ‘एक किसिमले भन्दा यसअघि न्युयोर्कमा भेटे पनि आइसब्रेक भइसकेको थिएन । आज त्यसैका लागि दुवै प्रधानमन्त्रीले एक अर्कालाई समय दिनु भएको हो ।’
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले दुई पक्षीय संवाद र विश्वास बढाउनका लागि थुप्रै विषयमा कुराकानी भएको जानकारी दिएका छन् । सेप्टेम्बरमा न्युयोर्कमा भेटेका दुई प्रधानमन्त्रीले बिमस्टेक अवसर पारेर साइडलाइनमा बस्दा दुई पक्षीय हितका थुप्रै विषयमा कुरा भएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेका छन् । मोदीले काठमाडौं आउन सक्दो कोसिस गर्ने भन्दै निम्ताका लागि ओलीलाई धन्यवाद दिएका छन् । दुई नेताहरुबीच भएको कुराकानीको विस्तृत विवरण आउन बाँकी छ । यद्यपि दुवै देशका विदेशमन्त्रीहरु बैंककमै हुँदा पनि भेटमा सहभागी गराइएन ।
पछिल्लो जानकारी अनुसार छलफल पारस्परिक रूपमा लाभदायक भएको छ । भारतीय पक्षले दिएको जानकारी अनुसार ओली मोदी भेटमा द्विपक्षीय सहयोग विशेष गरी विकास साझेदारी, ऊर्जा, जनता–जनताबीचको सम्बन्ध र कनेक्टिभिटी लगायतका क्षेत्रहरूको बढावा गर्नमा केन्द्रित रहेको थियो । भेटवार्ता सकेर प्रधानमन्त्री ओली आफू बसेको होटल सांग्रिलामा फर्केका छन् । अब उनी नेपाली दूतावास अवलोकनमा जाने सचिवालयले बतायो ।