दुर्गा प्रसाईं पक्राउ प्रकरणमा अलग-अलग दाबी : खासमा भएको के हो ?


२०८१ चैत २९ शुक्रबार ०५:५९ बजे

काठमाडौं :  विहिबार साझ भुसको आगो जस्तै समाचार फैलियो, ‘राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं भारतमा पक्राउ ।’ १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको सूचना प्रहरीकै उच्च अधिकारीले दिए । 

प्रसाईंको सचिवालयले चाहिँ सामाजिक सञ्जाल फेसबुकमार्फत आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको जानकारी दिएको छ । सचिवालयको दाबी छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षा को लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ, हिजोमात्र हामी ले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षा को ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं, भनेका थियौं र आज उपस्थित भयौं ।’ 

प्रसाईंको सचिवालय भन्छ,

तर प्रसाईंलाई भारतमा पक्राउ गरिएको विषयलाई भने प्रहरीले औपचारिक रुपमा भने खण्डन गरेको छ । बरू ‘उनी नेपालभित्रै छिट्टै पक्राउ पर्न सक्ने’ प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता (डीआईजी) दिनेशकुमार आचार्यले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनुहुन अनुरोध गर्दछौँ ।’

प्रहरीको दाबी :-

प्रहरीको खण्डनसँगै प्रसाईं संयोजक रहेको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गरेर प्रसाईंलाई भारतको आसाम राज्यअन्तर्गत गुवाहाटीबाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याएको दाबी गरेका छन् । उनले  प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान समेत गरेका छन् । 

भनेका छन्, ‘सरकारले काठमाडौंको तीनकुनेको शान्तिपूर्ण कार्यक्रमबाट आफै लखेटेर फरार रहेको बताइरहेको अवस्थामा नेपाल फर्कँदै गर्दा नेपाल प्रहरीले उहाँ नेपाल फर्कीरहेको आफूहरुलाई जानकारी नरहेको प्रतिक्रिया दिएको अवस्थामा उहाँको नेपाल प्रवेशसँगै ज्यान खतरामा रहेको र बेपत्ता समेत पारिन सक्ने स्थिति भएको हुँदा राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्था, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरुलाई उपस्थित भई उहाँको ज्यानको सुरक्षाको प्रत्याभूतिका लागि भूमिका निर्वाह गरिदिनु हुन हामी अपिल गर्दछौं ।’ 

प्रसाईंको संयुक्त जनआन्दोलन परिचालन समिति भन्छ:

भएको के हो ?

नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास छ । सूचना समन्वय नै गरेर अर्का देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छाडे जस्तो गर्ने लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा लैजाने अभ्यास छ । अपराधमा संलग्न भएर एकअर्काको देशमा आश्रय लिइरहेका कसूरदारलाई हस्तान्तरण गर्न भारतले नेपालसँग सुपुर्दगी सन्धिको प्रस्ताव गर्दै आएपनि त्यो हुन सकेको छैन । नेपाल–भारत दुवै मुलुकका प्रहरीले अहिलेसम्म जति पनि अपराधीलाई एकअर्काको मुलुकमा लगेका छन्, तीमध्ये धेरैजसो तल्ला तहका अनुसन्धान अधिकृतहरूको व्यक्तिगत सम्बन्धका आधारमा भएका छन् । यस्तो काममा नेपाल प्रहरीको विशेष व्यूरोले गर्ने गरेको छ । 

आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास अनुसार नै भारतीय प्रहरीहरुले भोली सीमाक्षेत्रमा ल्याएर प्रसाईँलाई छोड्नेछ, लगत्तै प्रसाईँसँगै आइरहेका नेपाल प्रहरीले विशेष ब्यूरोका प्रहरीले आफ्नो पूर्ण नियन्त्रणमा लिनेछ । त्यस लगत्तै प्रसाईँ पक्राउ परेको जानकारी दिइनेछ । स्रोतका अनुसार प्रसाईंनिकट कानुन व्यवसायी पनि बिहानै सीमा क्षेत्रमा पुग्ने गरी बाटो लागेका छन् ।  प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘अपराधमा संलग्न भएर एकअर्काको देशमा आश्रय लिइरहेका कसूरदारलाई हस्तान्तरण गर्न  नेपाल र भारतविच सुपुर्दगी सन्धि भएको छैन, कानुनी मान्यता र अभ्यास अनुसार भारतमा पक्राउ परेको भन्न मिल्दैन । प्रसाईंलाई भारतीय प्रहरी र नेपाल प्रहरीका विशेष व्यूरोका अधिकारीहरुको नियन्त्रणमा रहेपनि अहिले पक्राउ भएको भन्न मिल्दैन । भोली सीमा क्षेत्र ल्याएपछि मात्रै प्रहरीले पक्राउ गरेको जानकारी दिन मिल्छ । हामी प्रक्रिया मिलाउन चरणमा छौं ।’ 

बुधबार मात्र उनले सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र प्रहरी सम्पर्कमा आउने भिडियो सन्देश पठाएका थिए । तीनकुने घटना लगत्तै प्रसाईं झापाको काकडभिट्टा नाका हुँदै भारत छिरेका थिए । स्रोतका अनुसार प्रहरीको विशेष व्यूरोले भारतमा पुगेर खोजी गरीरहेको थियो । 

तीनकुने घटनामा विभिन्न मुद्दामा हालसम्म ७५ जनाभन्दा बढी हिरासतमा छन् । आन्दोलनका नेताहरू रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायतलाई प्रहरीले म्याद थपी अनुसन्धान गरिरहेको छ।तीनकुने आन्दोलनमा दुई जनाको मृत्यु भएको थियो। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७