राप्रपा अध्यक्ष लिङदेन पुगे पत्रकार सुरेश रजकको घर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन पार्टी नेताहरुसहित चैत १५ गते काठमाडौंको तीनकुने घटनामा मारिएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको घर पुगेका छन् । अध्यक्ष लिङदेन आज बागमती प्रदेशका सभामुख भुवन पाठक र राप्रपाका अन्य नेताहरुसहित पत्रकार रजकको घर ताहाचल पुगेर शोकाकुल परिवारलाई भेटेका हुन् ।
उक्त अवसरमा सुरेशको परिवारले उनलाई शहीद घोषणा गरिनुपर्ने, घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक आयोग गठन गरिनुपर्नेलगायतका माग अध्यक्ष लिङदेन समक्ष राखेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । अध्यक्ष लिङदेनले आफूहरुले पार्टीको बैठकबाट औपचारिक निर्णय गरेको, संसद र सडकमा यो विषय उठाएको र निरन्तर उठाइरहने बताएका थिए ।