सरकार र शिक्षक महासंघबीचको वार्तामा के भयो ?


२०८१ चैत २८ बिहीबार ०५:१४ बजे

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता सकिएको छ । शिक्षा मन्त्रालयमा भएको वार्तामा के सहमति भयो भन्नेबारे शिक्षा मन्त्रालयले अझै केहि खुलाएको छैन।

९ दिनदेखि काठमाडौं आएर प्रदर्शन गरिरहेका शिक्षकहरूले वार्ताका लागि सरकारले वातावरण नै नबनाएको बताएका छन् । बिहीबार शिक्षा मन्त्रालयमा दुवै पक्षबीच छलफल भए पनि कुनै ठोस सहमति भने हुन सकेन । बिहीबार महासंघका तर्फबाट शिक्षामन्त्री विद्या भट्टराईलाई वार्ताको वातावरण बनाउन र विगतका सहमति कार्यान्वयनबारे सरकारको प्रस्ट धारणा आउनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाइएको छ । महासंघका सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा महासचिव तुलाबहादुर थापा, उपमहासचिव अर्थ मदनराज जोशी र नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावल रहेका थिए ।

प्रतिनिधिमण्डलले पुराना सहमति र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची समेत बुझाएको छ। छलफलमा शिक्षामन्त्री भट्टराई, शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेसहित ४ जना सहभागी थिए । शिक्षक महासंघका अध्यक्ष लक्ष्मणकिशोर सुवेदीले आफूहरूले एजेन्डा बुझाउन मात्र गएको बताए । शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले आजको छलफलमा कुनै ठोस सहमति नभएको बताए।

दुवै पक्ष आन्तरिक छलफलपछि वार्ता हुने उनको दाबी छ । शिक्षामन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पनि शिक्षा ऐन जारी गर्ने विषयमा तदारुकता नदेखाएको जनाइएको छ । त्यस्तै संसद्को हिउँदे अधिवेशन अनुमानित मितिभन्दा अगावै अन्त्य गरेको उल्लेख गर्दै महासंघले सरकार विद्यालय शिक्षा ऐन ल्याउने कुरामा गम्भीर नरहेको आरोप लगाएको छ ।

‘आजको वार्ता सकिएको छ । वार्तामा भएका कुराकानी आन्तरिक छलफल गरेर भोलि मात्रै सार्वजनिक गरिने छ’ वार्तामा सहभागी शिक्षा मन्त्रालय सचिवालयका एक सदस्यले भने । वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी थियो । सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई नेतृत्वको टोली सहभागी थियो । शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ ।

वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले बिहीबार माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक नै कब्जा गरेर प्रदर्शन गरेका थिए । तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग ठेलाठेल समेत भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७