जनताले ल्याएको परिर्वतनविरुद्ध प्रतिगामीहरू सल्बलाए : महासचिव पोखरेल

सुर्खेत । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्रले नेपालमा कहिल्यै पनि सत्कर्म नगरेको बताएका छन् । आज (मंगलबार) सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको वृहत् जागरसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले त्यसैको परिणाम आज नेपाली जनताले भोगिरहेका बताए ।
नेपाली राजतन्त्रको इतिहासमा पृथ्वीनारायण शाह र बहादुर शाहबाहेक अरू कसैले सत्कर्म नगरेका उनले बताए। ‘गाउँघरमा एउटा भनाइ छ–मान्छेले सत्कर्म गरेको रहेनछ भने मरेपछि प्रेत बनेर दुःख दिन्छ, सत्कर्म गरेको रहेछ भने सजिलै स्वर्ग जान्छ, दुष्कर्म गरेको रहेछ भने प्रेत बनेर दुःख दिन्छ, नेपालको राजनीतिमा अढाई सय वर्षसम्म शासन गरेको शाह वंशीय शासन सत्ताले सत्कर्म गरेको रहेनछ, त्यसैले प्रेत बनेर जनतालाई दुःख दिइरहेको छ, हामी त्यही प्रेत मन्छाउन आएका छौँ’, पोखरेलले भने ।
जनताले ल्याएको परिवर्तनका विरुद्ध प्रतिगामी सलबलाएकाले त्यसको खबरदारी गर्न एमाले सडकमा आउनु परेको पोखरेलले बताए । जनताले ल्याएको परिवर्तनविरुद्ध औंला ठड्याएकाले त्यसका विरुद्ध खबरदारी गरिएको उनले स्पष्ट पारे । नेकपा एमाले जनताले रोजेको पहिलो पार्टी भएकाले जनताले ल्याएको परिवर्तनको संरक्षणको लागि नेकपा एमाले जनताका बीचमा आएको पोखरेलले बताए । जनताले ल्याएका परिवर्तन अरू कसैले नबोके पनि एमाले एक्लैले भए पनि बोक्ने पोखरेलले स्पष्ट पारे ।
राजावादी मण्डलेहरूले केही भएन भनिरहेका बताउँदै उनले २०४६ साल पछि कस्तो परिवर्तन भयो भन्ने कुरा हेर्न कर्णाली आउन निम्तो दिए । ‘कर्णालीलाई अँध्यारोमा राख्नेहरू गणतन्त्रले के दियो भन्दछन्, गणतन्त्रले नुन खानको लागि हेलिकप्टर हेर्नुपर्ने कर्णालीवासीलाई घरघरमा नुन पुर्याइदियो, कर्णालीवासीलाई चामलको भात खाने बनायो, कर्णालीलाई मोटर बाटो दियो, गाउँ गाउँमा मोटर बाटो पुर्यायो, गणतन्त्रले दिएको परिवर्तन देख्न नसक्ने मण्डलेहरू राजाको शासनकालमा कर्णाली कस्तो थियो ?’, उनले भने ।
गणतन्त्रले केही दिएन भन्ने मण्डलेहरूलाई गाउँ गाउँमा नाङ्गेझार बनाउनु पर्ने उनले बताए । पञ्चायतको समयमा नेपाल कस्तो थियो भन्ने कुरा तथ्य र प्रमाणको आधारमा भन्न सक्नु पर्नेमा उनले जोड दिए । देशका विकास सोचे जस्तो हुन नसकेको भए पनि राजा र मण्डलेहरूले ध्वस्त पारेको देश र अर्थतन्त्रलाई गणतन्त्रले अघि बढाउने काम सुरु गरिसकेको उनले दावी गरे । उनले समृद्ध नेपाल सुखी नेपालीको बाटोमा नेपाल अघि बढेको बताउँदै राजावादीहरूले रोजेको बाटो विनाशको बाटो भएको स्पष्ट पारे ।
केपी ओली नेतृत्वको सरकारले निरन्तर काम गर्न पाएको भए देशको विकास धेरै माथि पुग्ने उनले बताए । एमालेले राम्रो काम गरेको कारण सरकारबाट हटाउने काम भएको उनको भनाइ छ । विकास खाने नेताबाट देशलाई जोगाएर विकास गर्ने नेतालाई सत्तामा ल्याउनु पर्ने पोखरेलले बताए ।
अहिले मुलुकमा दुईवटा पार्टी मिलेर सरकार चलाइरहेको बताउँदै उनले सामान्य अवस्थामा दुईवटा प्रमुख पार्टी मिल्न नपर्ने भए पनि साना पार्टीले ठुला पार्टी माथि शासन गर्न लागेपछि दुई ठुला पार्टी मिल्नु परेको स्पष्ट पारे । ठुला पार्टी माथि साना पार्टीले शासन गरेको अवस्थामा देशको समृद्धि र विकास हुन नसक्ने उनको धारणा छ । माओवादीको अराजकता सदाको लागि समाप्त पार्नको लागि कांग्रेस र एमाले मिल्नु परेको उनले सुनाए । यो एकता २०८४ को निर्वाचनसम्म हुने उनले स्पष्ट पारे । ‘मुलुकलाई संकट पर्दा, नेपाली कांग्रेस र नेकपा एमाले मिलेका इतिहास छन्, त्यसैले अहिले पनि मिलेको छौँ, मुलुकको स्थितिलाई सुधार गर्ने अठोट गरेका छौँ, संकल्प गरेका छौँ’, उनले भने ।
सधैँभरि भूमिहीनको कुरा गर्ने, सुकुम्वासीको कुरा गर्ने माओवादीले त्यो समस्या समाधान गर्न भूमिसम्बन्धी अध्यादेश ल्याउँदा त्यसलाई पास गर्नबाट पछि हटेर आफ्नो असली चरित्र देखाएको उनले बताए । तर पनि त्यो अध्यादेशलाई नियमित विधेयकको रूपमा ल्याएर आउने अधिवेशनबाट त्यसलाई पास गरी भूमि समस्या समाधान गरिने पोखरेलले प्रतिबद्धता व्यक्त गरे ।
मुलुकमा निराशाको खेती गरेर नेपाली समाजलाई नयाँ बाटो खोज्ने दिशा तर्फ होइन निराशाको खाडलमा हाल्ने षडयन्त्र भइरहेको उनले बताए । त्यस प्रकारका षडयन्त्रलाई चिरेर नेकपा एमाले अघि बढ्न चाहेको उनको भनाइ छ। नेपालमा भएका सबै समस्यालाई चिरेर अघि बढ्ने क्षमता नेकपा एमालेले मात्र राख्ने बताउँदै उनले त्यसको लागि आउने निर्वाचनमा नेकपा एमालेलाई बहुमत सहित सत्तामा पुर्याउन उनले आग्रह गरे ।
नेकपा एमालेले समृद्ध नेपाल, सुखी नेपालीको सपना देखेको भन्दै उनले त्यो यात्रामा प्रतिगामीले दुःख दिन लागेका बताए । प्रतिगामीरुपी मच्छडलाई कहिल्यै नफर्कने गरी भगाउन नेपाली जनता जुरमुराएर उठ्नु पर्नेमा उनले जोड दिए। नेपाली समाजलाई पछाडि पार्न सकिन्छ भन्ने सपना कसैले देखेको छ भने त्यो किमार्थ सम्भव नहुने पनि उनले बताए ।