मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, एक जनाको उपचार हुँदै

सिरहा । पूर्व –पश्चिम लोकमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ कसाहा खण्डमा बुधबार करिब साढे ११ बजेतिर विपरीत दिशातर्फ जाँदै गरेको दुई मोटरसाइकल आपसमा ठोक्किँदा गम्भिर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका सुखीपुर नगरपालिका–८ का करिब ३० वर्षीय जयकुमार गिरी र कल्याणपुर नगरपालिका १२ का करिब २८ वर्षीय सन्तोषकुमार यादवको धनगढीमाई ९ मुसहर्नियास्थित आरके मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्रकुमार पासवानका अनुसार सन्तोषले चलाएको मोटरसाइकल पछाडि बसेका सिरहा नगरपालिका १२ का करिब २४ वर्षीय सिकन्दर यादवको टाउको, हात खुट्टामा चोट लागेर गम्भिर अवस्थामा सोही अस्पतालमा उपचार भइरहेको छ ।
पूर्वतर्फ आउँदै गरेको गिरीले चलाएको बा.४४ प १५६१ नम्बरको माटरसाइकल र पश्चिमतर्फ जाँदै गरेको सन्तोषले चलाएको स.५ प ७७४० नम्बरको मोटरसाइकल कसहा चोकमा आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुवै मोटरसाइकल तीब्र गतिमा रहेकाले आपसमा ठोक्किएको आशंका गरिएको छ। प्रहरीका अनुसार मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको र घटनाको थप अनुसन्धान थालिएको छ ।