विमानस्थलमा युवकमाथि दुर्व्यवहार गर्ने तीन प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा एक युवामाथि दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाही गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको जनाएको छ ।
उनीहरूलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिएका छन् । दूबईबाट ३१ चैतमा काठमाडौँ आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका थिए ।
उनीमाथि प्रहरीले गरेको दुर्व्यवहार को भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । १० दिनको बिदामा काठमाडौँ आएर विमानस्थल बाहिर निस्किँदै गर्दा एक कर्मचारीले उनलाई ट्रली बाहिर ल्याएको विषयमा गालीगलौच गरेका ओझाले बताएका छन् । ओझाका अनुसार ती व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए । तर, प्रहरीले उल्टै उनीमाथि थप दुर्व्यवहार गरेका थिए ।