मन्दिर परिसरमै टाउकोमा ढुंगा प्रहार गरी युवकको हत्या


०३:४९ बजे

कैलाली । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियामा आज एक जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको हो । 

पहिचान नखुलेका ती पुरुष अन्दाजी ३५–४० वर्षका जस्तो देखिने इलाका प्रहरी कार्यालयले जनाएको छ । मृतकको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको जस्तो देखिएको कार्यालयका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । ढुंगाले हानेर टाउकोको बायाँपट्टिको भाग र आँखा फुटाइएकाले अनुहार चिनिने अवस्थामा नरहेको उनले बताए । 

शव नजिकै रगत लागेको ढुङ्गा पनि फेला परेको बताउँदै प्रनाउ थापाले साथमा लुगा बाहेक कुनै सामान फेला नपरेको जानकारी दिए । पुरुषको शव मन्दिरको दक्षिणतर्फ प्रांगणमा भेटिए पनि घटना मन्दिरभित्रै भएको प्रहरीले जनाएको छ । शव भेटिएको ठाउँभन्दा २० मिटर दूरीमा रहेको मन्दिर प्रांगण राताम्मे छ ।  मन्दिरबाट घिसारेर शव तल फालिएको जस्तो देखिएको प्रनाउ थापाको भनाइ छ । उनका अनुसार प्रहरीले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७