शिक्षकको आन्दोलन अन्त्यका लागि कांग्रेस महामन्त्री थापाले अघि सारे दुई विकल्प 


२०८१ चैत ३० शनिबार ०२:५३ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकको जारी आन्दोलन अन्त्यका लागि दुईवटा विकल्प अघि सारेका छन् । तत्काल सम्बोधन हुने माग मन्त्रिपरिषद् बैठक बसेर आजै टुंगो लगाउन सकिने उनको भनाइ छ । संसद्बाट गर्नुपर्ने काम गर्न संसद्को अधिवेशन बोलाउनु पर्ने उनले बताएका छन्। 

संसद्को अधिवेशन बोलाउने दिन तोकेर शिक्षकलाई आश्वस्त बनाउन विधेयक पास गर्ने ‘टाइफ्रेम’ दिन सकिने उनको धारणा छ । ‘शिक्षकले अघि सारेका १५ वटा माग मन्त्रिपरिषद् बैठकबाट सम्बोधन गर्न सकिन्छ । यसलाई आजै मन्त्रिपरिषद् बैठक बसेर निर्णय गरौँ’, सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भने, ‘कतिपय सम्बन्धित मन्त्रालयले निर्णय गरेर गर्न सकिने कामहरू छन् । यो कामलाई तत्काल आजै गरौं ।’ 

यसले शिक्षकमा विश्वास र भरोसाको वातावरण बनाउने उनको भनाइ छ । संसद्बाट पूरा गर्न सकिने माग सम्बोधन गर्न संसद् बोलाउनु पर्नेमा उनको जोड छ । ‘कानुन संसद्ले बनाउने हो । संसद् बोलाउन सरकारले मिति तय गर्नुपर्छ । संसद् सुरु भएको सात-आठ दिनभित्र शिक्षा विधेयक पारित गर्छौं भन्ने प्रतिबद्धता जनाऔं’, महामन्त्री थापाले भनेका छन्, ‘विधेयकको अन्तरवस्तुमा यसअघि नै समझदारी भइसकेको छ । दिनरात नभनी काम गर्न सकियो भने वैशाखको १२-१५ मा शिक्षा विधेयक पास गर्न सकिन्छ ।’ 

शिक्षकले उठाएका माग यसअघि नै पूरा गर्ने विषय भएको भन्दै थापाले हालसम्म पूरा नहुनु लज्जास्पद भएको बताए।  कांग्रेस सरकारमा भइरहेका बेला यस्तो अवस्था आउनु दुर्भाग्य भएको उनको भनाइ छ। अब सबै मिलेर शिक्षकका माग सम्बोधन गर्दै शिक्षकहरूलाई कक्षा कोठामा फिर्ता गराउनुपर्ने महामन्त्री थापाको धारणा छ । वैशाख २ गतेबाट शैक्षिकसत्र सुरु हुने भएकाले त्यसघि नै समस्याको समाधान नभए यसले गम्भीर असर पर्ने उनले बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७