सरकारको प्रवृत्ति समर्थनयोग्य छैन : महामन्त्री शर्मा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको काम समर्थनयोग्य नभएको टिप्पणी गरेका छन् । अर्का महामन्त्री गगन थापालगत्तै शर्मा पनि सरकारको कडा रुपमा आलोचनामा उत्रिएका छन् ।
हिजो एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्रीको कार्यशैलीमा प्रश्न उठाउँदै प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच पुगेको टिप्पणी गरेका थिए । महामन्त्री शर्माले सरकारको ७ कमजोरी औल्याउँदै ट्वीटरमा लेखेका छन्, ‘नगर्नु पर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन । मुख्य दुई दल सम्मिलित सरकारको गति सम्तोषजनक भएन । कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ । सरकार अलमल बाहिर, अनुभूतिमा भेटिनुपर्छ सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नु पर्छ ।’
उनले सामाजिक सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियार सम्बन्धि विधेयक, त्रिविको उपकुलपति प्रकरण, राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण र नेपाल प्रहरीको एआइजी नियुक्तको विषयमा उठाएका छन्। सरकारको भविष्यबारे अनेक शंका–उपशंका र गठबन्धनका नेताबीच असमझदारी सार्वजनिक भएपछि आज उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ । हिजो यो विषयमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको पनि छलफल भएको थियो ।