उपमेयर डंगोल वर्ल्ड  इकोनोमिक फोरमको ‘योङ ग्लोबल लिडर’ छनोट


२०८२ बैशाख ४ बुधबार १९:३१ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५ मा छनोट भएकी छन् । संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका छन्। दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिएकी हुन् । उनी राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुन् ।

डंगोलसँगै थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भएका छन् । वर्ल्ड  इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । यसमा हजारौंले आवेदन दिए पनि सीमित व्यक्ति मात्र छनोट हुन्छन् ।

डंगोलले योङ ग्लोबल लिडरमा छनोट भएकामा आफूलाई गर्व लागेको बताएकी छन् । ‘संसारभरको यो मञ्चमा समग्र नेपालको प्रतिनिधित्व गर्दै युवा नेतृत्वका रूपमा छनोट हुँदा थप खुसी लागेको छ,’ उनले भनिन्, ’परिवर्तनका संवाहक भनेका युवा हुन्। म स्वयं पनि युवामा विश्वास राख्ने भएकाले संसारभर सकारात्मक सन्देश दिने यो मञ्चमा छनोट हुँदा समग्र युवाको प्रतिनिधित्व भएको महसुस गरेकी छु ।’

उनले अगाडि भनिन्, ‘यो छनोटले मलाई थप जिम्मेवारीबोध महसुस गराएको छ। जुन भूमिकामा छु, त्यहाँ रहेर अझ धेरै राम्रो गर्न प्रोत्साहन मिलेको छ ।’ ‘मिस नेवा २०११’ की विजेता डंगोलले लिपि अभियन्ताको परिचय पनि बनाएकी थिइन् । उनीसहितको टिमले स्थानीय रञ्जना लिपि संरक्षणका लागि नागरिकको घर, चोक, टोल र सडक हुँदै सार्वजनिक ठाउँमा ‘वर्कसप’ चलाएको थियो । काठमाडौं उपत्यका हुँदै विदेशसम्म ’क्यालिजात्रा’ को पहुँच विस्तार गरेको थियो । डंगोललाई स्थानीय लिपिहरूको संरक्षणसँगै राजधानीको उपमेयर समेतको स्थानमा पुग्न सफल भएको भन्दै योङ ग्लोबल लिडरमा छानिएको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७