२५ करोड बरामद प्रकरण : मालिक फरार, चालक कारागार चलान

काठमाडौं । काठमाडौंको टोखास्थित झोरबाट २५ करोड बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् । ट्रक चालक सिन्धुपाल्चोकको फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई कारागार चलानको आदेश दिएको हो । योसँगै उनी कारागार चलान भएका छन् । यता २५ करोडको मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलले फरार छन् ।
उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । दुवैलाई प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको थियो । उनीहरूविरुद्ध बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो र जरिवाना समेत मागदाबी गरिएको छ ।
गत ४ चैत राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर चीनतर्फ लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय चालक लामालाई पक्राउ गरेको थियो । भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर उक्त रकम लैजाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।