आगामी दिनमा विद्युत व्यवस्थापन थप चुनौतीपूर्ण, महसुल बढाउने तयारीमा प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जारी गरेको श्वेतपत्र अनुसार विद्युत व्यवस्थापनमा असन्तुलन देखिएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र प्रस्तुत गरेका हुन्। उक्त श्वेतपत्रअनुसार राष्ट्रिय विद्युत प्रणालीमा वर्षा तथा सुख्खा यामको विद्युत माग र आपूर्तिबीच फरक किसिमको असन्तुलन रहेको छ । ‘एकातिर वर्षायामको विद्युत आंशिक रुपमा खेर गइरहेको छ भने अर्कोतिर सुख्खा याममा विद्युतको माग पूर्ण रूपमा आपूर्ति गर्न सकिएको छैन । आगामी दिनहरूमा यसको व्यवस्थापन अझ बढी चुनौतीको रूपमा देखिएको छ’, श्वेतपत्रमा उल्लेख छ ।
प्राधिकरणको प्रक्षेपणअनुसार आव २०८२/८३ को वर्षायाममा करिब २ हजार ६४८ मेगावाट र आव २०८३/८४ को वर्षायाममा करिब ३ हजार ३१६ मेगावाटसम्म जगेडा विद्युत निर्यात हुनुपर्ने देखिन्छ। आर्थिक वर्ष २०८२/८३ को सुख्खायाममा ७९१ मेगावाट र आव २०८३/८४ को सुख्खा याममा ७२८ मेगावाट अपुग विद्युत आयात गर्नुपर्ने देखिन्छ। यसको दिगो समाधान र ऊर्जा सुरक्षाको लागि अर्ध जलाशय, जलाशय र पम्प जलाशययुक्त आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माण गरी ऊर्जा भण्डारण गर्ने र सँगसँगै विद्युत खपतको वार्षिक वृद्धिदर हालको १२–१४ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याउन सबै प्रयास गर्नुपर्ने श्वेतपत्रमा उल्लेख छ ।
बिजुलीको मूल्य बढाउने प्राधिकरणको तयारी
नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बढाउने तयारी गरेको छ । शुक्रबार श्वेतपत्र जारी गर्ने क्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले समयानुकूल विद्युत् महसुल समायोजन गरिने बताए । उनका अनुसार, तीन वर्षदेखि विद्युत् महसुल समायोजन भएको छैन । यस्तै, मन्त्रिपरिषद्को निर्णयानुसार डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता प्रचलित विद्युत् वितरण तथा संलकन विनियमावलीअनुसार असुलीको प्रक्रिया तत्काल अगाडि बढाइने उनको भनाइ छ । सडकबत्ती तथा सरकारी बक्यौताका साथै अन्य बक्यौता सरकारको सहयोगमा असुल गरिने शाक्यले बताए ।