कोशी लगानी सम्मेलन : डेढ खर्बको प्रतिवद्धता, ४६ परियोजनामा समझदारी


०९:४६ बजे

विराटनगर । कोशी प्रदेशमा एक खर्ब ५२ अर्ब १६ करोडका परियोजना सञ्चालन गर्ने समझदारी भएको छ। कोशी प्रदेश लगानी सम्मेलनको समापनका अवसरमा त्यससम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो । शुक्रबार विराटनगरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सरोज कोइराला र लगानीकर्ताहरूबीच सम्झौता भएको छ ।

प्रदेश लगानी प्राधिकरणका अनुसार, कृषिका आठ परियोजनामा तीन अर्ब, ऊर्जासम्बन्धी तीन परियोजनामा आठ अर्ब ६२ करोड, उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड रुपैयाँ, पूर्वाधारका ९ परियोजनामा ३८ अर्ब ४१ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, पर्यटनको १० परियोजनाका ३४ अर्ब १९ करोड र फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना एमओयू भएको छ ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना एमओयू भएका हुन् । प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरेको थियो । सोकेसिङ परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । शुक्रबारको कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलन ऐतिहासिक र भव्य रूपमा सम्पन्न भएको बताए । आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारले गरेका कानुनी र नीतिगत कुराका बारेमा प्रकाश पारे । प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी सरकार अगाडि बढेको जानकारी दिए ।

पूर्व मुख्यमन्त्री केदार कार्कीले लगानीमैत्री वातावरण बनाउन कानुन संशोधन गर्ने कुरा गाह्रो नभएको बताउँदै सरकार र मुख्यमन्त्रीले चाहेमा तत्काल संशोधन हुने र यसले लगानीको वातावरण तयार हुने बताए । कोशीका सभामुख अमरबहादुर विष्टले सम्मेलन सफल भएको बताए । भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री उपेन्द्र राईले कोसी प्रदेशले लगानीमैत्री वातावरण तयार गरेको बताए ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७