प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा सकारात्मक कुराकानी भएको जनाइएको छ ।
भेटका अवसरमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीको मानवअधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए । प्रधानमन्त्री ओलीले यसबारे हिजो प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने तयारी भइरहेको छ । पूर्व प्रधानन्यायधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा रहेको सिफारिस समितिले दुई आयोगका पदाधिकारीका लागि ३५ जनाको नाम सिफारिस गरेको छ । मुख्य तीन दलबीच आयोगका पदाधिकारीमा भागबन्डा मिलिनसकेका कारण सिफारिस भएका नामबाट नियुक्ति हुन सकेको छैन ।