नीति कांग्रेसको र कार्यक्रम एमालेको जस्तो : वर्षमान पुन

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रमप्रति कटाक्ष गरेका छन् ।
‘सरकारको नीति कांग्रेसको र कार्यक्रम एमालेको जस्तो छ,’ आइतबार (आज) संसद् भवन प्राङ्गणमा पत्रकारहरूसँग कुराकानी गर्दै पुनले भने । उनले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर नदेखिएको आरोप समेत लगाए । पुनले ठूला दलबीचको गठबन्धका कारण नीति एकतिरबाट र कार्यक्रम अर्कोतर्फबाट ल्याउनुपर्ने अप्ठेरो सरकारलाई देखिएको टिप्पणी गरे ।
सरकारको नीति तथा कार्यक्रममा, नीति मात्रै आएको र आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा कार्यक्रम मात्रै आएको जिकिर गरे । नीति तथा कार्यक्रम र सिद्धान्त हेर्दा सरकार नै अलमलमा परेको भन्दै पुनले गठबन्धन सरकार लामो समय अघि बढ्ला जस्तो आफूलाई नलागेको बताए । यही सरकार निरन्तर अघि बढे देश र जनताले दुःख पाउने उनको तर्क छ । पुनले नीति तथा कार्यक्रममाथि उठेका विषयमा प्रधानमन्त्री गम्भीर नदेखिएको भन्दै बजेट पनि कामचलाउ जस्तो आउने आशंका जनाए ।