रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ। विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।
नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ । नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनःसुरु गरेको हो। रेसुङ्गा–काठमाडौँका लागि रु सात हजार ८० र काठमाडौंँ–रेसुङ्गा रु सात हजार दुई सय ८० भाडादर कायम छ ।
मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुनसकेको थिएन । हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए । निगमको १८ सिट क्षमताको जहाजले बिहान ६ः१० बजे काठमाडौंबाट रेसुङ्गा र बिहान ७ः१५ बजे रेसुङ्गाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ ।