कार्यकर्तालाई प्रचण्डकाे आग्रह : राजावादीको आन्दोलन निस्तेज पार्ने गरी लाग्नू

‘करोडौं खर्च गर्नुपर्ने लुटेरा निर्वाचन प्रणाली चाहिएको छैन’


२०८२ बैशाख २९ सोमबार २२:३२ बजे
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरूले जेठ १५ गते घोषणा गरेको आन्दोलनलाई निस्तेज पार्नेगरी लाग्न पाटीं पंक्तिलाई आग्रह गरेका छन् ।

आज (सोमबार) वाईसीएल नेपाल, कर्णाली प्रदेशको पहिलो सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्ता निर्देशन दिएका हुन् । ‘अहिले सबै पूर्व पञ्चहरू मिलेर जेठ १५ देखि आन्दोलन गर्ने भनेर घोषणा गरेका छन्। म विशेष अपिल गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘उनीहरूको त्यो गतिविधिलाई निस्तेज पार्नका लागि हर गाउँमा, हर टोलमा जानुपर्नेछ । उनीहरूको प्रतिक्रान्तिकारी षड्यन्त्रको भण्डाफोर गर्नुपर्नेछ।’

उनले वर्तमान सरकार उल्टो दिशामा हिँडेका कारणले जनतामा निराशा देखा परेको र त्यो असन्तुष्टिको दुरुपयोग राजावादीले गरेको आरोप लगाए । ‘हामीले त्यो अभियान चलाउँदै गर्दा काठमाडौंमा यो सरकारका गतल क्रियाकलाप, उल्टो दिशा हिँडेको कारणले जनतामा निराशा देखा पर्‍यो,’ प्रचण्डले सम्बोधनका क्रममा भनेका छन्, ‘त्यो असन्तुष्टिलाई राजावादीले दुरुपयोग गर्ने कोशिस गरे । समाजवादी मोर्चासमेत भएर प्रहार गर्दा राजावादीको बेलुन फुट्यो । अझै पनि उनीहरू दुस्साहस गर्ने कुचेष्टा गर्दैछन् ।’

‘उनीहरू तिनै राजामहाराजा होइनन्, जसले अढाइ सय वर्ष राज गरेर संसारको सबैभन्दा बढी देशको दर्जामा ल्याउने यिनीहरू नै होइनन् ?,’ प्रचण्डले भने, ‘आफ्नै राजा र राजपरिवारको हत्या हुँदा, हत्यारा पत्ता लगाउने कुरामा आँट पनि गर्न नसक्ने कायर यिनै होइनन् ? यिनीहरूको घुर्कीविरुद्ध देशभरका जनताले प्रतिवाद गर्नैपर्छ ।’ अध्यक्ष प्रचण्डले वाईसीएल नेपाललाई पुनः संगठित गर्ने अभियानमा आफू रहेको बताएका छन् ।

प्रचण्डले त्यसका लागि नै आफूले मर्निङ वाक अभियान चलाएको बताए । ‘तपाईहरूले देख्नु भएको छ, म बिहान बिहानै हिँड्ने गरेको छु । त्यो मर्निङ वाक होइन, त्यो युवाहरूलाई फेरि आन्दोलित गर्ने, वाईसीएललाई फेरि संगठित गर्ने महाअभियान हो,’ उनले भने । आजको समयको वाईसीएल नेपालले नयाँ क्रान्तिको तयारी थाल्नु पर्ने बताएका प्रचण्डले अभियानको तयारीको लागि लामबद्ध हुन्, फेरि एकचोटी जुर्मुराएर उठ्न आवश्यक रहेको बताए ।

‘नयाँ क्रान्तिको तयारीको निम्ति वाईसीएल नेपाल एकपटक फेरि जुर्मुराएर उठोस् भन्ने म चाहन्छु,’ उनले भने, ‘किनभने, वाईसीएलले फेरि एकपटक राष्ट्र र जनताको पक्षमा आफूलाई समर्पित गर्ने बेला आएको छ ।’

‘करोडौं खर्च गर्नुपर्ने लुटेरा निर्वाचन प्रणाली चाहिएको छैन’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यामान लुटेरा निर्वाचन प्रणाली नचाहिने बताएका छन् । प्रचण्डले करोडौं खर्च गरेर पनि निर्वाचन जित्न नसकिने प्रणाली आवश्यक नभएको बताएका हुन् ।  

‘करोडौं खर्च गरेर निर्वाचन लड्नुपर्ने लुटेरा प्रणाली हामीलाई चाहिँदैन । दलित, उत्पीडित सबैले खर्च नगरी चुनाव लड्ने गरी प्रणाली चाहिएको छ । प्रतिक्रिया प्रतिगामी शक्तिहरूले संविधान संशोधनको कुरा गर्दैछन् । क्रान्तिकारी र प्रतिगामी शक्तिबीच कडा टसल हुनेवाला छ । यसमा आदिवासी, दलित, उत्पीडित, महिला सबै वर्ग समुदाय सचेत हुनुपर्ने आवश्यकता छ’, उनले भने । कार्यक्रममा आफ्नो नेतृत्वको सरकारले ल्याएको विशेष प्याकेज केपी ओली सरकारले कटौती गरेकोमा विरोध गरे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७