पाकिस्तानले भारतमाथि गर्यो ड्रोन आक्रमण, जम्मु क्षेत्रमा ‘ब्ल्याकआउट’

नयाँदिल्ली । पाकिस्तानले जम्मूमाथि ड्रोन आक्रमण गरेको भारतीय सुरक्षा स्रोतले जनाएको छ । राति ८ बजे गरिएको आक्रमणमा जम्मुको विमानस्थललाई मुख्य लक्ष्य बनाइएको थियो । भारतीय वायु सुरक्षाले रूसबाट प्राप्त एस–४०० मिसाइल प्रणाली प्रयोग गरी सबै ड्रोनलाई झारेको जनाएको छ ।
आक्रमण सुरु भएपछि जम्मु क्षेत्रमा ब्ल्याकआउट गराइएको छ । पाकिस्तानतर्फबाट भारी मात्रमा गोला–बारुदसमेत प्रहार भएको छ भने आरएसपुरा सेक्टरमा ठूलो संख्यामा ड्रोन देखिएको र स्थानीयले विभिन्न ठाउँमा विस्फोटको आवाज सुनेको बताएका छन् ।
पाकिस्तानी गतिविधि तीव्र भएपछि भारतको सीमावर्ती राज्यहरू–पंजाब, जम्मु–कश्मीर र राजस्थान उच्च सतर्कतामा राखिएका छन् । राजस्थानका बाड़मेर, जैसलमेर, जोधपुर लगायतका सीमावर्ती जिल्लाहरूमा पनि विद्युत आपूर्ति बन्द (ब्ल्याकआउट) गरिएको छ । यसअघि पनि यी क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म ब्ल्याकआउट गर्ने आदेश दिइएको थियो ।