अधिकांश फेल भएपछि एक वर्षमै प्रहरीको स्टाफ कोर्स परिमार्जन हुँदै
परिमार्जन गर्न ७ सदस्यीय समिति गठन
काठमाडौं : अधिकांश परीक्षार्थी अनुत्तीर्ण भएपछि नेपाल प्रहरीले ‘प्रहरी स्टाफ कोर्स’ परिमार्जनको तयारी थालेको छ। त्यसका लागि प्रहरी प्रधान कार्यालयले नायव महानिरीक्षक (डीआईजी) विश्व अधिकारीको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको छ।
प्रहरी स्टाफ कोर्सअन्तर्गत सञ्चालित ‘पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स’ (पीएलएससी) मा निर्धारित कोटाअनुसार परीक्षार्थी छनोट हुन नसकेपछि पाठ्यक्रम, परीक्षा तथा छनोट प्रक्रियालगायत विषयमा पुनरावलोकन गर्न समिति गठन गरिएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार १७ भदौमा समिति गठन गरेर अध्ययनको काम अघि बढाइएको छ। समितिले बुझाउने प्रतिवेदनका आधारमा मात्रै कोर्स परिमार्जनको प्रक्रिया अघि बढ्नेछ।
‘स्टाफ कलेज कोर्समा निर्धारित कोटाअनुसार छनोट हुन नसकेपछि पुनरावलोकन गर्न समिति गठन गरिएको हो। समितिले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि त्यसकै आधारमा आवश्यक निर्णय हुन्छ,’ प्रवक्ता काफ्लेले भने।
समितिलाई १५ दिनको समय दिइएको छ। उक्त अवधिमा समितिले स्टाफ कलेज कोर्सको पाठ्यक्रम, परीक्षा प्रणाली, छनोट प्रक्रिया तथा हालसम्मको अभ्यासबारे अध्ययन गरी रायसहितको प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाउनेछ।
प्रतिवेदन प्राप्त भएपछि मात्रै कोर्स परिमार्जन गर्ने वा नगर्ने तथा परिमार्जन गर्नुपर्ने भए कुन–कुन विषयमा परिवर्तन गर्ने भन्ने टुंगो लाग्नेछ। समिति गठन भएसँगै नयाँ ब्याचको भर्ना प्रक्रिया पनि तत्कालका लागि रोकिएको छ।
करिब दुई दशकको प्रयासपछि सञ्चालनमा आएको प्रहरी स्टाफ कलेज कोर्स औपचारिक रूपमा सुरु भएको एक वर्ष नपुग्दै पुनरावलोकनको अवस्थामा पुगेको हो।
२०८२ वैशाखमा तत्कालीन गृहमन्त्री रमेश लेखकको उपस्थितिमा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा स्टाफ कलेज कोर्सको औपचारिक उद्घाटन गरिएको थियो।
नेपाल प्रहरीले महत्वाकांक्षी परियोजनाका रूपमा अघि बढाएको यो कोर्स लामो प्रयासपछि सञ्चालनमा आएको थियो। तर पहिलो चरणमै निर्धारित कोटाअनुसार परीक्षार्थी छनोट हुन नसकेपछि यसको पाठ्यक्रम, परीक्षा प्रणाली र छनोट प्रक्रियामाथि पुनरावलोकन गर्नुपर्ने अवस्था आएको हो। अब समितिले बुझाउने प्रतिवेदनका आधारमा प्रहरी स्टाफ कोर्सको आगामी स्वरूप, पाठ्यक्रम र छनोट प्रक्रिया तय गरिनेछ।
.gif)

.png)

