राजासहितको राष्ट्रिय सहमतिबिना मुलुकले निकास पाउँदैन : लिङ्देन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिन निषेधको राजनीति त्यागेर राजासहित राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले देश लामो समयदेखि राजनीतिक तरलता र अनिश्चितताको अवस्थामा रहेको बताए।
अब देशले थप द्वन्द्व र निषेधको राजनीति थेग्न नसक्ने भन्दै उनले सबै राजनीतिक दल र राजाबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताए। आगामी मंसिरमा हुने महाधिवेशन नेतृत्व चयनका लागि मात्र नभई पार्टीको आगामी मार्गचित्र तय गर्ने र विगतका कमजोरी सच्याउने अवसर भएको उनको भनाइ छ।
उनले पार्टीका सांसद तथा जनप्रतिनिधिले अन्य दलको प्रभावमा पर्ने वा अनुशासन उल्लंघन गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे। आफू अध्यक्षमा रहे पनि नरहे पनि पार्टी र कार्यकर्ताको शिर झुक्ने काम नगर्ने तथा भ्रष्टाचारविरुद्धको अडानमा कायम रहने प्रतिबद्धता जनाउँदै लिङ्देनले काठमाडौं जिल्ला अधिवेशनमा स्वस्थ र मर्यादित प्रतिस्पर्धा गर्न उम्मेदवारहरूलाई आग्रह गरे।
.gif)

.png)

