दमनकारी र जनविरोधी शासकहरूको नाश हुन्छ : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक तथा जनविरोधी शासकहरूको अन्त्य हुने बताएका छन्। छापा माध्यमका पत्रकारहरूले दिएको ज्ञापनपत्र बुझ्दै ओलीले जनताको आवाज दबाउने र अरूलाई अप्ठ्यारोमा पार्ने शासकहरूको जनताबाटै विरोध हुने बताएका हुन्। ‘जुन शासक दमनकारी हुन्छ, जुन शासक पीडक हुन्छ, जुन शासक जनविरोधी हुन्छ, अत्याचारी हुन्छ, अरूको आवाज दबाउँछ, अरूलाई बोल्न दिँदैन, अरूलाई अप्ठ्यारो पार्छ,’ ओलीले भने, ‘अरू अप्ठ्यारोमा पर्दा रमाउँछ, त्यस्ता शासकहरूको विरोध हुन्छ।

त्यस्ता शासकहरूको जनताबाट विरोध हुन्छ, त्यस्ता शासकहरूको नाश हुन्छ।’ धर्मशास्त्रमा समेत यही कुरा उल्लेख रहेको भन्दै ओलीले अहिलेका शासकहरूले पनि यसबाट पाठ सिक्नुपर्ने बताए। ‘त्यही थियो, त्यो कुरा सत्य हो। अहिलेका लागि पनि सत्य हो। अहिलेका शासकले पनि बुझ्नुपर्ने कुरा हो। मैले पनि शास्त्रकै कुरा गरेको हो,’ उनले भने। ओलीले आफू विगत ६० वर्षदेखि समानता र स्वतन्त्रताको पक्षमा संघर्ष गर्दै आएको दाबी गरे। संयुक्त राष्ट्रसंघको बडापत्र र मानव अधिकारको घोषणापत्र पढेपछि समानता र स्वतन्त्रताको यात्रामा अघि बढ्न प्रेरणा मिलेको उनले बताए।

.gif)

.png)

