सुत्केरी बिदा ६ महिना पुर्‍याउन माग गर्दै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव


२०८३ भदौ २८ आइतबार १५:२६ बजे

काठमाडौं : महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने माग गर्दै प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी संवैधानिक हक कार्यान्वयनको माग गर्दै विपक्षी दलका महिला सांसदहरूले प्रस्ताव दर्ता गराएका हुन्। 
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रस्तावको प्रस्तावक नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) रहेकी छन्। एमालेकी भूमिका लिम्बु सुब्बा, नेपाली कम्युनिस्ट पार्टीकी बलावती शर्मा, श्रम संस्कृति पार्टीकी राधिका रम्तेल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा प्रस्तावका समर्थक छन्। प्रतिनिधिसभा नियमावली, २०७३ को नियम ७१ बमोजिम दर्ता गरिएको प्रस्तावमा हालको ९८ दिनको सुत्केरी बिदा आमा र शिशुको स्वास्थ्यका लागि पर्याप्त नभएको उल्लेख छ।
सरकारले ६ महिनासम्म स्तनपान र ‘सुनौलो १ हजार दिन’को अवधारणालाई प्राथमिकता दिँदै आए पनि आमालाई दिइने बिदा भने ९८ दिनमा सीमित राखिएको भन्दै प्रस्तावमा प्रश्न उठाइएको छ। विश्व स्वास्थ्य संगठनले समेत शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउन सिफारिस गरेको अवस्थामा ९८ दिनको बिदाले उक्त व्यवस्था कसरी कार्यान्वयन हुन सक्छ भन्ने प्रश्न सांसदहरूले गरेका छन्।
संविधानको धारा ३८(२) ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रस्तावमा राज्यको विद्यमान व्यवस्था त्यसअनुकूल नभएको दाबी गरिएको छ। महिलाले कार्यस्थल र मातृत्वमध्ये एउटा रोज्नुपर्ने अवस्था सिर्जना भएको भन्दै सांसदहरूले पर्याप्त सुत्केरी बिदाको अभावले महिलाको मातृत्वसम्बन्धी निर्णयमा समेत असर परेको उल्लेख गरेका छन्।
नेपालको प्रजनन दर १.६८ मा झरेको तथ्य प्रस्तुत गर्दै प्रस्तावमा घट्दो जन्मदर रोक्न प्रभावकारी नीति आवश्यक रहेको औँल्याइएको छ। निजामती, शिक्षण, स्वास्थ्य, बैंक तथा गार्मेन्टलगायत क्षेत्रमा महिलाको सहभागिता बढे पनि पर्याप्त बिदाको अभावले धेरै महिला आमा बन्ने निर्णयमा ढिलाइ गर्न बाध्य भएको सांसदहरूको भनाइ छ। राजनीतिमा सक्रिय महिलाका लागि समेत सुत्केरी बिदाको स्पष्ट कानुनी व्यवस्था नभएको प्रस्तावमा उल्लेख छ। 
सुत्केरी भएका कारण संसद् वा अन्य औपचारिक जिम्मेवारीमा उपस्थित हुन नसक्दा अनुपस्थितिको सूचीमा पर्ने अवस्था रहेको सांसदहरूको दाबी छ। सुत्केरी बिदा ६ महिनासम्म पुर्‍याई आमालाई शिशुको उचित हेरचाह र स्तनपानका लागि पर्याप्त समय उपलब्ध गराउनुपर्ने माग गर्दै सांसदहरूले यस विषयलाई संसद्को छलफलको प्रमुख एजेन्डा बनाउन आग्रह गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७