प्रधानमन्त्री शाह कालो चस्मा लगाएरै संसद् जाने, यस्तो देखाए कारण
संसद् सचिवालयलाई दिए स्वास्थ्य रिपोर्ट
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ बुधबार प्रतिनिधि सभा बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुने भएका छन्। प्रतिनिधि सभा बैठकमा बुधबार दिउँसो १ बजे सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ। त्यसका लागि प्रधानमन्त्री शाह संसद्मा उपस्थित हुनेछन्।
सभामुख डोलप्रसाद अर्यालले भने संसद् बैठकमा कालो चस्मा नलगाउन सांसद तथा प्रधानमन्त्रीसहितका पदाधिकारीलाई आग्रह गरेका थिए। प्रमुख सचेतक र सचेतकमार्फत् गरिएको आग्रहमा स्वास्थ्यसम्बन्धी कारणले कालो चस्मा लगाउनुपर्ने भए त्यसको कारण र स्वास्थ्य परीक्षणको रिपोर्ट उपलब्ध गराउन भनिएको थियो।
प्रधानमन्त्री शाहले भने आफूले कालो चस्मा लगाउनुपर्ने कारण खुलाउँदै संघीय संसद् सचिवालयलाई पत्र पठाइसकेका छन्। उनले आँखाको समस्याका कारण उज्यालोमा हेर्न असहज हुने भएकाले कालो चस्मा प्रयोग गर्नुपरेको जानकारी गराएका छन्। प्रधानमन्त्रीले साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए। उनको परीक्षण लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेका थिए।
परीक्षण रिपोर्टमा प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न कठिन हुने र आँखा सुक्खा हुने समस्या रहेको उल्लेख छ। आँखाको सुख्खापनका कारण आवश्यकताअनुसार आइड्रप प्रयोग गर्नुपर्ने चिकित्सकीय सुझावसमेत दिइएको छ। यही स्वास्थ्य अवस्थाका कारण कालो चस्मा प्रयोग गर्नुपर्ने भएको भन्दै प्रधानमन्त्रीले साउन २६ गते संसद् सचिवालयलाई पत्र पठाएर जानकारी गराएका थिए।
यससँगै सभामुखको आग्रहका बाबजुद प्रधानमन्त्री शाह बुधबारको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य अवस्थाका कारण कालो चस्मामै उपस्थित हुने भएका हुन्।
.gif)

.png)

