प्रहरी कर्मचारीले सहुलियत ब्याजदरमा वाणिज्य बैंकबाट ५० लाखसम्म कर्जा पाउने
काठमाडौं। नेपाल प्रहरीका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा ५० लाख रुपैयाँसम्म घर कर्जा पाउने भएका छन्। नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच प्रहरी कर्मचारीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सुविधासम्बन्धी समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले समझदारीपत्रमा हस्ताक्षर गरी आदानप्रदान गरे।
राष्ट्रिय वाणिज्य बैंकसँग नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरूको तलबी खाता सञ्चालनसम्बन्धी विगत १० वर्षको सम्झौता अवधि समाप्त भएपछि सेवाको निरन्तरताका लागि नयाँ समझदारी गरिएको हो।
सम्झौताअनुसार तलबी बचत खाता सञ्चालन, बिना धितो पेशाकर्मी सरल कर्जा, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारका लागि पेन्सन वितरण र कर्जा लगानीसम्बन्धी सेवा थप पाँच वर्षका लागि नवीकरण गरिएको छ।
पेशाकर्मी सरल कर्जा १५ लाख रुपैयाँसम्म र पेन्सनर कर्जा ५ लाख रुपैयाँसम्म उपलब्ध हुनेछ। त्यस्तै, बहालवाला प्रहरी कर्मचारी तथा अवकाशप्राप्त, अमररशहीद र अशक्त प्रहरी कर्मचारीले नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंकको उपभोक्ता कर्जा निर्देशिकाअनुसार २० वर्षसम्मका लागि ५० लाख रुपैयाँसम्म घर कर्जा लिन सक्नेछन्। पेन्सन खाता भने राष्ट्रिय वाणिज्य बैंकमै हुनुपर्ने व्यवस्था गरिएको छ।
सवारी साधन खरिदका लागि ७ देखि १० वर्षसम्मको गाडी कर्जा उपलब्ध हुनेछ। सम्झौताअनुसार घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा १.७५ प्रतिशत र शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम गरिएको छ।
सम्झौतामा प्रहरी कर्मचारीका लागि दुर्घटना बीमाको सुविधासमेत व्यवस्था गरिएको छ। दुर्घटनामा परी मृत्यु वा पूर्ण अपाङ्गता भएमा ५ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ।
त्यस्तै, दुर्घटनामा परी घाइते भई उपचार गर्नुपर्ने अवस्थामा बीमा प्राधिकरणबाट जारी निर्देशिकाबमोजिम अस्पताल बसाइ तथा उपचार खर्चको क्षतिपूर्तिलगायत सुविधा उपलब्ध गराइनेछ। बीमाका लागि खातावाला प्रहरी कर्मचारीले प्रतिव्यक्ति १०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
.gif)

.png)

