सिंगापुरमा छैटौँ नेपाल फुटसल कप सम्पन्न

नेपाल फुटसल कपले जोड्यो नेपालीभाषी डायस्पोरा


२०८३ भदौ ९ मंगलबार ०९:२८ बजे

सिंगापुर : सिंगापुरमा आयोजना हुँदै आएको नेपाल फुटसल कपको छैटौँ संस्करण सम्पन्न भएको छ। नेपाली समाज सिंगापुर (एनएसएस)को आयोजनामा शनिबार सिंगापुर खाल्सा एसोसिएसनमा सम्पन्न प्रतियोगितामा १५० भन्दा बढी नेपाली समुदायका सदस्य सहभागी भएका थिए।

एकदिने प्रतियोगितामा सिंगापुरमा बसोबास गर्ने नेपालीसँगै म्यानमार तथा उत्तरपूर्वी भारतका नेपालीभाषी समुदायको समेत सहभागिता रहेको थियो। आयोजकका अनुसार यस वर्षको प्रतियोगिता अहिलेसम्मकै ठूलो संस्करणमध्ये एक बनेको छ। प्रतियोगितामा ११ टोलीका ८० खेलाडीले पुरुष, महिला र बालबालिकातर्फ प्रतिस्पर्धा गरेका थिए। 

पुरुषतर्फ सुर्यदय एफसीले उपाधि जित्दा गोरखा रेञ्जर्स एफसी उपविजेता बनेको थियो। महिलातर्फ ब्ल्यू फुरी एफसीले उपाधि हात पारेको थियो। प्रतियोगिताको औपचारिक उद्घाटन सिंगापुरस्थित नेपालका अवैतानिक महावाणिज्यदूत हेलेन कम्पोस्, नेपाली समाज सिंगापुरका संस्थापक अध्यक्ष अमर चित्रकार तथा समुदायका वरिष्ठ सदस्य रिद्धी कर्माचार्यले संयुक्त रूपमा गरेका थिए।

नेपाली समाज सिंगापुरका अध्यक्ष इन्द्र गुरुङको नेतृत्व तथा कार्यक्रम निर्देशक विपिनबहादुर खत्रीको निर्देशनमा आयोजना गरिएको प्रतियोगिताको आयोजना उपसमितिका सदस्य सैलेश विक्रम थापा, रोबर्ट विश्वकर्मा, बत्सल कुमार नेम्कूल, घनश्याम अर्याल र सुनिल शर्मालगायत स्वयंसेवकहरूको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा एनएसएसका अध्यक्ष इन्द्र गुरुङले नेपाल फुटसल कप सिंगापुरमा नेपाली समुदायको वार्षिक महत्वपूर्ण कार्यक्रमका रूपमा स्थापित हुँदै गएको बताए। उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रायोजक, खेलाडी, स्वयंसेवक तथा समुदायका सदस्यलाई धन्यवाद दिँदै आगामी संस्करणलाई थप व्यवस्थित र भव्य बनाउने प्रतिबद्धता व्यक्त गरे।

त्यस अवसरमा कार्यक्रम निर्देशक खत्रीले फुटसल कपको सफलतालाई नेपाली समुदायबीचको एकता र सामुदायिक भावनाको प्रतिबिम्बका रूपमा उल्लेख गरे। उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी, स्वयंसेवक, प्रायोजक तथा समुदायका सदस्यप्रति आभार व्यक्त गर्दै आगामी संस्करणलाई अझ ठूलो र समावेशी बनाउने प्रतिबद्धता जनाए।फुटसल प्रतियोगितासँगै कार्यक्रममा नेपाली मौलिक परिकार, प्रत्यक्ष सांगीतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि समेत आयोजना गरिएको थियो।

खेलाडी, स्वयंसेवक तथा समुदायका सहयोगीलाई सम्मान गर्दै पुरस्कार वितरण कार्यक्रमसमेत गरिएको थियो। आयोजकका अनुसार नेपाल फुटसल कपले सिंगापुरमा बसोबास गर्ने नेपालीभाषी समुदायबीच सामुदायिक एकता, युवा सहभागिता र सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने मञ्चका रूपमा आफ्नो भूमिका विस्तार गर्दै आएको छ। प्रतियोगिताको मुख्य प्रायोजक ओसन सेफ्टी सप्लायर्स रहेको थियो। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७