उपचारका लागि सिंगापुर पुगेका देउवा दम्पती आज राति स्वदेश फर्कँदै
काठमाडौँ : नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा र उनकी पत्नी तथा केन्द्रीय सदस्य आरजु राणा देउवा आज राति स्वदेश फर्किने भएका छन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले भने,'उहाँहरू आज साँझ फर्किनुहुन्छ ।' देउवा दम्पती शुक्रबार राति ९:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । उनीहरू कात्तिक १० गते सिंगापुरतर्फ प्रस्थान गरेका थिए।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित आफ्नै निवासमा प्रदर्शनकारीले गरेको आक्रमणमा परेपछि देउवा घाइते भएका थिए। उनको टाउकाको पछाडिको भागमा गम्भीर चोट लागेर १२ वटा टाँका लगाइएको थियो ।
अन्तरिम सरकारले देउवासहित केही नेताहरूको पासपोर्ट रोक्का गर्ने तथा काठमाडौँ बाहिर जाँदा अनुमति लिनुपर्ने व्यवस्था गरेका थियो । तर देउवा उपचारका लागि विदेश जानुपर्ने भएपछि उक्त स्थानहद सरकारले फुकुवा गरेको थियो ।
यसैबीच, असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक एक महिनादेखि निरन्तर चलिरहेको छ। कार्यवाहक सभापति खड्काबाहेक सबै नेताहरूले आफ्नो धारणा प्रस्तुत गरिसके पनि अन्तिम निर्णयका लागि संस्थापन पक्ष देउवाको उपस्थितिको प्रतीक्षा गरिरहेको छ।
.gif)

.png)

