मनसुन सक्रिय : कोशी–बागमती–गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं : मनसुनी वायुको प्रभाव देशभर कायम रहेकाले आज अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले मौसम बदलीसहित वर्षाको गतिविधि बढेको हो।
हाल देशभर साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेश प्रदेशका एक–दुई स्थानमा समेत वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका विभिन्न भू–भागमा पनि केही तथा थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुनसक्ने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका केही तथा थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका केही तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ।
तराईका विभिन्न क्षेत्रमा समेत वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचना अद्यावधिक राख्न महाशाखाले अनुरोध गरेको छ।
.gif)

.png)

