नाडा अटो शोको १८औँ संस्करण आजदेखि
२०० भन्दा बढी स्टल, ५३ सवारी ब्रान्डको सहभागिता
काठमाडौँ : नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुन लागेको प्रदर्शनीको औपचारिक उद्घाटन बिहान ९ बजे हुनेछ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार उद्घाटन समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव मुख्य अतिथिका रूपमा सहभागी हुनेछन्। यस वर्षको प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ सवारीसाधन, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि, अटो पार्ट्स तथा विभिन्न उत्पादन र सेवाहरूलाई प्राथमिकताका साथ प्रदर्शन गरिनेछ।
नाडाका अनुसार प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। करिब तीन लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुने प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन्। प्रदर्शनीमा विद्युतीय सवारीसहित विभिन्न नयाँ मोडल तथा प्रविधि सार्वजनिक तथा प्रदर्शन गरिने आयोजकले जनाएको छ। यसले नेपाली अटोमोबाइल बजारमा भित्रिएका नयाँ प्रविधि र सवारीसाधनबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी लिन अवसर प्रदान गर्नेछ।
त्यस्तै, करिब ७० वटा स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरण प्रदर्शन गरिनेछ। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको पनि सहभागिता रहनेछ। प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, पार्ट्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरणलगायतका स्टल निर्माण तथा व्यवस्थापनको काम पूरा गरिएको आयोजकले जनाएको छ।
१८औँ संस्करणको नाडा अटो शोले विशेषगरी विद्युतीय सवारी, नयाँ अटोमोबाइल प्रविधि र मोबिलिटी समाधानतर्फ नेपाली बजारको बदलिँदो प्रवृत्तिलाई समेत उजागर गर्ने अपेक्षा गरिएको छ।
.gif)

.png)

