स्वर्णजयन्ती विशेष १८औं नाडा अटो शो सुरु
अटोमोबाइल क्षेत्रलाई क्षेत्रीय केन्द्र बनाउनुपर्छ : उपराष्ट्रपति यादव
काठमाडौं : स्वर्णजयन्ती विशेष नाडा अटो शो १८औं संस्करण २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले शोको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपालको अटोमोबाइल क्षेत्रलाई प्रविधि, सेवा, सीप र उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा व्याख्या गर्दै उनले उद्योग विकास, लगानी सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ता हितबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए। विश्व अटोमोबाइल उद्योग विद्युतीय सवारी, स्वचालित सवारी, स्मार्ट मोबिलिटी र डिजिटल प्रविधितर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले नेपालका व्यवसायीले यसलाई चुनौतीभन्दा अवसरका रूपमा लिनुपर्ने बताए।
.jpg)
उपराष्ट्रपति यादवले सरकार र निजी क्षेत्रबीच निरन्तर संवादमार्फत स्थिर, पारदर्शी तथा लगानीमैत्री नीति निर्माण गर्नुपर्नेमा पनि जोड दिए। नाडाको ५० वर्षको यात्रालाई नेपालको अटोमोबाइल क्षेत्रको विकाससँग जोडिएको पाँच दशक लामो यात्राका रूपमा उल्लेख गर्दै उनले आगामी दिनमा यस क्षेत्रलाई थप आधुनिक र प्रतिस्पर्धी बनाउनुपर्ने बताए।
त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै उद्योग व्यवसायको अवस्था कमजोर बनेको बताए। बजारमा माग बढ्न नसकेको र व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै श्रेष्ठले आफ्नो ३६ वर्षको व्यावसायिक यात्रामा उद्योगी व्यवसायीको यस्तो कमजोर मनस्थिति कहिल्यै नदेखेको बताए।
उनले अर्थतन्त्रलाई पुनःसंरचना गर्नुपर्ने आवश्यकता रहेको भन्दै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा जोड दिए। आगामी १० वर्षपछि नेपालले जनसांख्यिक लाभ प्राप्त गर्ने अवस्था नरहने भएकाले त्यसअघि नै उद्योग विस्तार गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। श्रेष्ठले अटोमोबाइल क्षेत्रमा स्पेयर पार्ट्स उत्पादनको सम्भावनालाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए। नेपालमै स्पेयर पार्ट्स उत्पादन गर्ने वातावरण बनाउनुपर्ने भन्दै उनले यसका लागि निजी क्षेत्रले सरकारको लक्ष्यमा साथ दिने प्रतिबद्धता जनाए।
.jpg)
यसैगरी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधनको व्यापारका रूपमा बुझ्न नहुने बताए। यो क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बीमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष रूपमा जोडिएको उनको भनाइ थियो। नाडाका अनुसार अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको छ भने राज्यको राजस्वमा वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी योगदान हुँदै आएको छ।
उप्रेतीले दीर्घकालीन लगानीका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताए। करका दर तथा नीतिमा पटक–पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुने भन्दै उनले कर नीतिमा स्थिरता कायम गर्न सरकारसँग आग्रह गरे। सवारीसाधनलाई अझै विलासी वस्तुका रूपमा हेर्ने दृष्टिकोणमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो। बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार कर नीति व्यावहारिक तथा उपभोक्तामैत्री बनाउनुपर्ने उनले बताए।
काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको आवश्यकता पनि औँल्याउदै उनले उपत्यकाको जनसंख्या र आर्थिक गतिविधि बढ्दै गए पनि त्यसअनुसार प्रदर्शनी पूर्वाधार विकास हुन नसकेको भन्दै उनले भृकुटीमण्डपको वर्तमान संरचना पर्याप्त नभएको बताए। स्थान अभावका कारण ट्रक, बस तथा हेभी इक्विपमेन्टलगायतका सामग्री पर्याप्त रूपमा प्रदर्शन गर्न नसकिएको उल्लेख गर्दै उनले आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेटिएको भृकुटीमण्डप प्रदर्शनीस्थल स्तरोन्नतिको योजना शीघ्र कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।
नाडाले विद्युतीय सवारीको बढ्दो प्रयोगलाई नेपालका लागि नयाँ अवसरका रूपमा लिनुपर्नेमा पनि जोड दिएको छ। स्वच्छ ऊर्जा, नयाँ प्रविधि, चार्जिङ पूर्वाधार, एसेम्बली तथा अटोमोबाइल कम्पोनेन्ट उत्पादनमा भविष्यमा थप सम्भावना रहेको भन्दै उप्रेतीले सरकार, निजी क्षेत्र र प्रविधि क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
.gif)

.png)

