बकिङ्घम दरबारले प्रिन्स ह्यारीलाई प्रवेश नदिने, राजा चार्ल्ससँग भेट अनिश्चित


२०८३ असार २३ मंगलबार १८:३६ बजे

लण्डन । बेलायत भ्रमणमा रहेका प्रिन्स ह्यारीले यसपटक पनि बकिङ्घम दरबारमा बास नपाउने भएका छन्। सुरुवातमा राजदरबारमा परिवारसँग बस्न निमन्त्रणा दिइएको र ह्यारीले त्यसलाई स्वीकार गरेको खबर सार्वजनिक भएपछि वर्षौंदेखिको पारिवारिक दूरी अन्त्य हुने अपेक्षा गरिएको थियो। तर केही मिनेटमै बकिङ्घम दरबारले उक्त समाचार अस्वीकार गर्दै ह्यारीलाई दरबारमा स्वागत गर्न नसकिने स्पष्ट पारेको छ।

बेलायती सञ्चारमाध्यम द गार्जियनका अनुसार यो निर्णय राजा चार्ल्सको सल्लाहमा गरिएको हो। राजा चार्ल्सले उत्तराधिकारी प्रिन्स विलियमसँग लामो छलफलपछि ह्यारीलाई दरबारमा बस्न नदिने निर्णय गरेका हुन्। उक्त निर्णयबारे ह्यारीलाई औपचारिक जानकारी पनि दिइसकिएको बताइएको छ।

प्रिन्स ह्यारी सोमबार एक परोपकारी कार्यक्रमका लागि बेलायत पुगेका हुन्। लण्डन बसाइका क्रममा उनले एक रात आफ्ना पिता राजा चार्ल्स र परिवारसँग बिताउने इच्छा व्यक्त गरेका थिए। तर राजपरिवारभित्रको लामो समयदेखिको मतभेदका कारण उनको चाहना पूरा हुने सम्भावना कमजोर बनेको छ।

ह्यारीकी पत्नी मेगन मार्कल र उनीहरूका दुई सन्तान भने अहिले बेलायतमा छैनन्। उनीहरू केही दिनपछि मात्रै आउने बताइएको छ।

यसैबीच, ह्यारीले बेलायत भ्रमणका क्रममा आफ्ना पिता राजा चार्ल्ससँग भेट हुने वा नहुने अझै निश्चित भइसकेको छैन। क्यान्सरको उपचार गराइरहेका राजा चार्ल्सलाई आफ्ना छोराछोरीले चार वर्षपछि भेटून् भन्ने चाहना ह्यारीको रहेको जनाइएको छ। उनले आफ्ना सन्तानलाई आफ्नी आमा राजकुमारी डायनाको समाधिस्थल पनि देखाउने इच्छा व्यक्त गरेका छन्।

सन् २०२० मा शाही जिम्मेवारीबाट अलग भएपछि प्रिन्स ह्यारी र मेगनले सामान्य नागरिकका रूपमा जीवन बिताइरहेका छन्। त्यसयता ह्यारी र बेलायती राजपरिवारबीचको सम्बन्ध पटक–पटक तनावपूर्ण बन्दै आएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७