मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका, २५० म्यानपावरलाई मलेसिया पठाउन रोक

२५ म्यानपावरमाथि छानबिन


२०८३ भदौ २८ आइतबार १६:४५ बजे

काठमाडौं : सरकारले मलेसिया रोजगारीमा सिन्डिकेटको आशंकामा २५ वटा इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन थालेको छ। मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस) मा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत ती २५ संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ।

विभागले ती संस्थालाई प्रणालीबाट बाहिरिएको तथ्यगत जानकारी प्रमाणसहित पेस गर्न र नयाँ रूपमा आबद्ध नहुनसमेत निर्देशन दिएको छ। यस्तै, ती संस्थाका सहयोगी संस्थाका रूपमा सूचीकृत २५० वटा म्यानपावर कम्पनीको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति प्रक्रिया पनि हाललाई रोक्का गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार विभागले उक्त कदम चालेको हो।

विभागले २५ मुख्य संस्थाको कारोबार, छनोटको आधार, मलेसिया रोजगारीमा विगतको संलग्नता तथा अन्य संस्थालाई आबद्ध गराउँदा अपनाइएको प्रक्रियाबारे छानबिन गरिरहेको जनाएको छ। २५० सहयोगी संस्थासँग पनि एफडब्लुसिएमएसमा आबद्ध हुनुको आधार, अपनाइएको प्रक्रिया तथा मुख्य संस्थासँगको सम्बन्धबारे स्पष्टीकरण मागिएको छ। छानबिन पूरा नभएसम्म ती संस्थाले मलेसियाका लागि नयाँ पूर्वस्वीकृति लिन पाउने छैनन्।

मन्त्रालयले यो रोक्का नयाँ पूर्वस्वीकृतिमा मात्र लागू हुने स्पष्ट पारेको छ। यसअघि सम्पूर्ण प्रक्रिया पूरा गरी श्रम स्वीकृति लिइसकेका श्रमिकको वैदेशिक रोजगारीमा जाने प्रक्रियामा भने कुनै असर नपर्ने जनाएको छ। विभागले सम्बन्धित संस्थालाई श्रमिक छनोट र वैदेशिक रोजगार व्यवसायमा समूहगत नियन्त्रण वा एकाधिकार कायम गर्ने गतिविधि नगर्न निर्देशन दिएको छ। कानुन उल्लङ्घन भएको पाइएमा वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम इजाजतपत्र रद्द गर्नेसम्मको कारबाही हुने चेतावनी दिइएको छ।

सरकारले मलेसियासँगको श्रम आप्रवासनसम्बन्धी विषय दुई देशबीचको सरकार–सरकार संवादमार्फत समाधान गर्न प्रशासनिक तथा कूटनीतिक पहल भइरहेको जनाएको छ। यसअघि मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक लैजाने गरी सूचीकरण गरेपछि अन्य वैदेशिक रोजगार व्यवसायीले त्यसलाई सिन्डिकेट भन्दै विरोध गर्दै आएका थिए। नेपालमा अहिले एक हजारभन्दा बढी म्यानपावर कम्पनी सञ्चालनमा छन्। वैदेशिक रोजगार व्यवसायी संघले सबै इजाजतपत्रप्राप्त संस्थाले मलेसियामा निर्बाध रूपमा श्रमिक पठाउन पाउनुपर्ने माग गर्दै आएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७