बकिङ्घम दरबारमा नबस्ने राजा चार्ल्सको निर्णय
तिरे १ करोड २९ लाख पाउन्ड कर
लन्डन: बेलायती राजा चार्ल्स तृतीयले १० वर्ष लामो पुनर्निर्माण कार्य सम्पन्न भएपछि पनि बकिङ्घम दरबारमा स्थायी रूपमा बसोबास नगर्ने भएका छन्। बिहीबार दरबारका अधिकारीहरूले दिएको जानकारीअनुसार, करिब दुई शताब्दीदेखि बेलायती सम्राटको मुख्य निवासका रूपमा रहेको मध्य लन्डनस्थित बकिङ्घम दरबारको भूमिका अब परिवर्तन हुने भएको छ।
राजा चार्ल्सले लन्डनस्थित आफ्नो पुरानो निवास ‘क्लेरेन्स हाउस’ मै बसोबासलाई निरन्तरता दिने निर्णय गरेका छन्। सन् २०१७ मा ३६ करोड ९० लाख पाउन्डको लागतमा दरबारको पुनर्निर्माण सुरु हुँदा, भिक्टोरियाकालीन परम्पराअनुसार सम्राट दरबारमै रहने अपेक्षा गरिएको थियो। यद्यपि, अब यो दरबार औपचारिक कार्यक्रम, राजकीय भोज र विदेशी पाहुनाहरूको स्वागत गर्ने थलोका रूपमा मात्र सीमित रहनेछ।
दरबारको आर्थिक मामिला हेर्ने अधिकारी जेम्स चाल्मर्सका अनुसार, यो दरबार 'राजतन्त्रको मुख्यालय' र 'राष्ट्रिय सम्पदाको मुकुटमणि'का रूपमा रहिरहनेछ। राजा लन्डनमा रहँदा दरबारमा शाही ध्वजा फहराउने भए पनि, सन् २०१९ यता त्यहाँ राजपरिवारका कुनै पनि सदस्यले रात बिताएका छैनन्। हाल वार्षिक करिब सात लाख मानिसले अवलोकन गर्ने यो दरबारमा भविष्यमा सर्वसाधारणका लागि पहुँच अझ विस्तार गरिने बताइएको छ।
पहिलोपटक कर विवरण सार्वजनिक महारानी एलिजाबेथ द्वितीयको निधनपछि शाही परिवारमाथि बढेको वित्तीय पारदर्शिताको दबाबलाई मध्यनजर गर्दै, पहिलोपटक राजा चार्ल्सको कर विवरण सार्वजनिक गरिएको छ। बेलायती कानुनअनुसार राजा कर तिर्न बाध्य छैनन्, तर सन् १९९३ मा महारानीले सुरु गरेको स्वेच्छिक कर भुक्तानीको परम्परालाई राजा चार्ल्सले निरन्तरता दिएका छन्।
सार्वजनिक विवरणअनुसार राजाले आर्थिक वर्ष २०२४/२५ मा १ करोड २९ लाख पाउन्ड कर तिरेका छन्, जसले उनलाई बेलायतका शीर्ष १०० करदातामध्ये एक बनाएको छ। यसअघि २०२३/२४ मा उनले १ करोड १७ लाख पाउन्ड कर तिरेका थिए। सन् २०२२ मा राज्यारोहण भएयता उनले कुल ३ करोड पाउन्डभन्दा बढी कर बुझाइसकेका छन्।
आर्थिक व्यवस्थापन र अनुदानमा कटौती राजा चार्ल्सले ‘डची अफ ल्याङ्कास्टर’ सम्पत्तिबाट आर्थिक वर्ष २०२५/२६ मा २ करोड ५२ लाख पाउन्ड निजी आम्दानी प्राप्त गर्नेछन्। शाही खर्चका लागि सरकारबाट प्राप्त हुने ‘सार्वभौम अनुदान’ आगामी २०२६/२७ मा १३ करोड ७९ लाख पाउन्ड पुग्ने अनुमान छ। यद्यपि, राजाको आफ्नै इच्छामा सन् २०२७/२८ देखि यसलाई घटाएर १० करोड पाउन्डमा सीमित गरिने र २०३१/३२ सम्म सोही स्तर कायम रहने योजना छ।
यसैबीच, सिंहासनका उत्तराधिकारी युवराज विलियमले पनि २०२४/२५ मा ७७ लाख ६० हजार पाउन्ड कर तिरेका छन्। उनीहरू दुवैमाथि सेना, स्वास्थ्य सेवा र विद्यालयहरूबाट घरभाडा उठाएर निजी आम्दानी गरेको भन्दै केही आलोचनाहरू हुँदै आएका छन्। जवाफमा युवराज विलियमले एक बन्द कारागारबाट प्राप्त १५ लाख पाउन्ड घरभाडा स्थानीय समुदायको हितमा खर्च गर्न निर्देशन दिएका छन्।
-सीएनएनको सहयोगमा
.gif)

.png)

