भारत-पाकिस्तान युद्धका बेला चीनले पाकिस्तानी वायुसेनालाई फिल्डमै सघाएको पुष्टि

चिनियाँ ड्रोन र मिसाइलको सहारामा पाकिस्तान


२०८३ जेठ १० आइतबार ११:२७ बजे

काठमाडौँः बेइजिङ र इस्लामावादबीचको सैन्य साझेदारीको एउटा ठुलो र संवेदनशील पक्ष सार्वजनिक भएको छ। गत वर्ष भारत र पाकिस्तानबीच सैन्य तनाव चर्किएका बेला चीनले पाकिस्तानी वायुसेनालाई युद्धमैदान (फिल्ड) मै पुगेर कूटनीतिक र प्राविधिक सहयोग गरेको चिनियाँ पक्षले पहिलोपटक आधिकारिक रूपमा स्वीकार गरेको हो। 'साउथ चाइना मर्निङ पोस्ट' का अनुसार बेइजिङले पाकिस्तानसँगको यो रणनीतिक सैन्य सहकार्यबारे पहिलोपटक सार्वजनिक रूपमा स्वीकारोक्ति जनाएको छ।

चिनियाँ सुरक्षा अधिकारीहरूले यस सहकार्यलाई 'रक्षात्मक तथा प्राविधिक सहयोग' को संज्ञा दिएका छन्। सार्वजनिक प्रतिवेदन अनुसार चीनले तत्कालीन समयमा इस्लामावादलाई विशेषगरी हवाई सुरक्षा (वायु सुरक्षा), उन्नत निगरानी प्रणाली, रणनीतिक सूचना तथा सैन्य समन्वयको क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्‍याएको थियो। दुई आणविक शक्तिसम्पन्न छिमेकीहरूबीच युद्धको अवस्था सिर्जना हुँदा चीनले पर्दापछाडिबाट पाकिस्तानको हवाई प्रतिरक्षा क्षमतालाई सुदृढ बनाउन मुख्य प्राविधिक सहयोग उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ।

लामो समयदेखि पाकिस्तानको प्रमुख सैन्य र रक्षा साझेदार रहँदै आएको चीनले आफ्नो यो कदमलाई रणनीतिक रूपमा लुकाउन चाहेको थिएन। हाल पाकिस्तानले प्रयोग गरिरहेका अधिकांश आधुनिक लडाकु विमान, ड्रोन प्रविधि र मिसाइल प्रणालीहरू चिनियाँ प्रविधिमै आधारित छन्। गत वर्षको सैन्य टकरावका क्रममा पनि पाकिस्तानी वायुसेनाले चिनियाँ निगरानी संयन्त्र र युद्ध प्रविधिको भरपूर प्रयोग गरेको दाबी यसअघि नै सुरक्षा विज्ञहरूले गर्दै आएका थिए, जसलाई अहिले बेइजिङको स्वीकारोक्तिले पूर्णतः पुष्टि गरिदिएको छ।

यो खुला सैन्य सहकार्यले नयाँ दिल्लीका लागि थप रणनीतिक र सुरक्षा चुनौती थपिदिएको रक्षा विश्लेषकहरूको बुझाइ छ। भारतको चीनसँग हिमाली सीमा क्षेत्रमा लामो समयदेखि सीमा विवाद र सैन्य गतिरोध कायम छ भने पाकिस्तानसँग कश्मीर मुद्दालाई लिएर सम्बन्ध सधैँ तनावपूर्ण रहँदै आएको छ। यस्तो जटिल घडीमा चीन र पाकिस्तानको यो खुला सैन्य गठबन्धन दक्षिण एसियाको शक्ति सन्तुलन बिगार्ने र भारतलाई दुईतर्फी दबाबमा पार्ने रणनीतिका रूपमा हेरिएको छ।

चिनियाँ विदेश मन्त्रालय र सैन्य अधिकारीहरूले भने आफ्नो बचाउ गर्दै क्षेत्रीय स्थायित्व कायम गर्न र आत्मरक्षका लागि मात्र पाकिस्तानसँग सहकार्य गरिएको दाबी गरेका छन्। बेइजिङले यो कूटनीतिक सहयोग 'कुनै पनि तेस्रो देशविरुद्ध लक्षित नभएको' भन्दै पानीमाथिको ओभानो बन्ने प्रयास गरे पनि अन्तर्राष्ट्रिय सुरक्षा विज्ञहरू भने यसलाई मान्न तयार छैनन्। उनीहरूका अनुसार चीनले दक्षिण एसियामा भारतीय प्रभावलाई सन्तुलनमा राख्न र आफ्नो भू–राजनीतिक वर्चस्व विस्तार गर्न पाकिस्तानलाई बलियो रणनीतिक गोटीका रूपमा सक्रियतापूर्वक प्रयोग गरिरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७