अवैध कलबाइपास सञ्चालन गरेको आरोपमा चितवनबाट भारतीय नागरिक पक्राउ


२०८३ असोज १ बिहीबार १५:२२ बजे

काठमाडौं : चितवनको भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कलबाइपास (VOIP) सञ्चालनमा प्रयोग भइरहेको उपकरण तथा सामग्रीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भरतपुर महानगरपालिका–२, आँपटारीस्थित एक घरबाट भारतीय नागरिक २५ वर्षीय कथराम नितिनलाई नियन्त्रणमा लिएको हो।

नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा बरामद उपकरण तथा सामग्री अवैध अन्तर्राष्ट्रिय कलबाइपासमा प्रयोग भइरहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नितिनको साथबाट २६ थान मोबाइल, दुई थान ल्यापटप, ७७ थान एनसेल सिमकार्ड, १८ थान नेपाल टेलिकमका सिमकार्ड, चार थान सीपीयू, एक थान इन्भर्टर र दुई थान ब्याट्री बरामद गरिएको छ।

त्यस्तै, ६ थान २०-पोर्टको यूएसबी, ३३ थान यूएसबी सेल्युलर मोडेम, ३० थान यूएसबी ओटीजी–टु–अडियो केबल, एक थान पाँच-पोर्ट नेटवर्क स्विच, दुई थान इन्टरनेट राउटर तथा विभिन्न प्रकारका डेटा केबल समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका नितिनविरुद्ध दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा (५) बमोजिमको कसुरमा अनुसन्धान भइरहेको छ। बरामद उपकरण र सामग्रीको प्राविधिक परीक्षण तथा घटनाको थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय चितवनले अघि बढाइरहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७